Paschim Express
कारागारमा डडेल्धुराका पालीको मृत्यु प्रकरण : उद्योग वाणिज्य संघद्वारा दोषीमाथि कारबाहीको माग

डडेल्धुरा। कैलाली जिल्ला कारागारमा डडेल्धुराका व्यवसायी हरिशसिंह पालीको मृत्यु भएको घटनालाई लिएर डडेल्धुरा उद्योग वाणिज्य संघले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ।

भागेश्वर गाउँपालिका–५ स्थायी घर भई अमरगढी नगरपालिका–५ मा बसोबास गर्दै आएका पालीलाई बैंकिङ्ग कसुर अन्तर्गत जिल्ला अदालत कैलालीले १० दिन कैद र दुई लाख जरिवाना तोकेपछि प्रहरीले पक्राउ गरेको थियो। तर, पक्राउपछि केही दिनमै कारागारभित्रै उनको मृत्यु भएपछि घटनाले रहस्यपूर्ण मोड लिएको छ।

उद्योग वाणिज्य संघको ध्यानाकर्षण

पालीको मृत्यु शंकास्पद रहेको भन्दै उद्योग वाणिज्य संघ डडेल्धुराले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ। संघका कावा अध्यक्ष दीपक बहादुर महताको नेतृत्वमा बुझाइएको सो पत्रमा पालीलाई जबर्जस्ती कुटपिट गरी हत्या गरिएको गम्भीर आरोप लगाइएको छ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “पालीलाई चार दिनसम्म गैरकानुनी रूपमा प्रहरी नियन्त्रणमा राखी शारीरिक तथा मानसिक यातना दिइएको थियो। उनको मृत्यु प्रहरी यातनाकै कारण भएको स्पष्ट देखिन्छ। दोषी प्रहरी नायब निरीक्षक हरजित नाथलगायतलाई तत्काल कारबाहीको दायरामा ल्याइनुपर्छ।”

व्यवसायी, नागरिक समाज र वित्तीय संस्था आन्दोलनमा

घटनापछि डडेल्धुराको बजार र यातायात सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघ, बैंकर संघ, नागरिक समाज र अन्य सरोकारवाला निकायहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन्।

संघसंस्थाले दोषीमाथि कडा कारबाही, स्वतन्त्र छानबिन र पिडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। साथै, माग सुनुवाइ नभए उत्पन्न हुने सबै प्रकारका क्षतिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले भने पालीको मृत्यु स्वास्थ्य समस्याका कारण भएको दाबी गरेका छन्। उनका अनुसार, “सोमबार एक्कासि बिरामी परेपछि पालीलाई सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो।”

मृतकका आफन्तले भने पालीको शरीरभर निलडाम देखिएको र प्रहरी हिरासतमा यातना दिइएको दाबी गरेका छन्। घटनाको सत्यतथ्य खुल्न हालसम्म पोस्टमार्टम रिपोर्ट नआएको हुँदा सम्पूर्ण तथ्यहरू अस्पष्ट छन्।

507910494_1752102738710688_7623923034766292314_n-1750227907.jpg
 

504839069_1060191225552748_165286902150365158_n-1750227910.jpg
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update