Paschim Express
डडेल्धुरामा  सुरक्षाकर्मीलाई 'बेसिक लाइफ सपोर्ट' तालिम, तीन जिल्लाबाट सहभागिता

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको स्वास्थ्य तालिम केन्द्र, धनगढीले सडक दुर्घटनाबाट हुने स्वास्थ्य क्षति न्यूनीकरण गर्न सुरक्षाकर्मीहरूलाई लक्षित गरेर 'बेसिक लाइफ सपोर्ट फस्टएड' तालिम सञ्चालन गरेको छ।

डोटी, कैलाली र कञ्चनपुरबाट आएका १७ जना सुरक्षाकर्मीलाई ३ दिनसम्म दिइने उक्त तालिममा दुर्घटनापछि तुरुन्त दिइने प्राथमिक उपचार सम्बन्धी ज्ञान र सीप प्रदान गरिने छ।

तालिमकाे उद्घाटनमा बाेल्दै  प्रमुख अतिथि समाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सीमित स्रोतसाधनका बीच पनि सुरक्षाकर्मीले नागरिकको सुरक्षामा उल्लेखनीय योगदान दिँदै आएको भन्दै धन्यवाद व्यक्त गरिन्।

उनले भनिन्, "दुर्घटना हुनेबित्तिकै सुरक्षाकर्मी नै घटनास्थलमा सबैभन्दा पहिला पुग्ने भएकाले यस्ता तालिमले उनीहरूलाई थप दक्ष बनाउँछ।" त्यस्तै, उनले लागू पदार्थ न्यूनीकरणमा पनि सुरक्षाकर्मीले विशेष ध्यान दिनु पर्ने बताइन्।

कार्यक्रममा डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करूणाकर ओझाले तालिमले सुरक्षाकर्मीको पेशागत दक्षतामा थप योगदान गर्ने विश्वास व्यक्त गरे।

यस्तै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी सुगन्ध श्रेष्ठले पेशाबाट अवकाश लिएपछि पनि यस्ता तालिम दैनिक जीवनमा उपयोगी हुने उल्लेख गर्दै भने, "दुर्घटनापछि छिटो प्राथमिक उपचार भएमा जीवन बचाउन सकिन्छ।" 

उक्त तालिमले सुरक्षाकर्मीलाई नागरिकको जीवन रक्षा गर्ने थप सीप प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update