Paschim Express
कारागारमा रहेका डडेल्धुराका पालीको मृत्यु प्रकरण :  सई हरजीत नाथ पक्राउ

कैलाली । कैलाली कारागारमा एक कैदीको रहस्यमय मृत्यु भएको घटनामा नेपाल प्रहरीले एक जना प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरि सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई हरजीत नाथलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले पीडित पक्षको किटानी जाहेरीका आधारमा सई नाथलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जानकारी दिए। मृतक पाली नाथद्वारा दायर बैंकिङ कसुरसम्बन्धी मुद्दाका प्रतिवादी थिए। उक्त मुद्दामा जिल्ला अदालतले २०८० साल फागुनमा पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो।

पालीकी श्रीमती जानकी साउँदले कारागारभित्र योजना बनाएर पतिको कुटपिट गरी हत्या गरिएको आरोप लगाउँदै बुधबार कारागार प्रमुख बसन्त बहादुर खत्रीसहित पाँच जनाविरुद्ध जाहेरी दिएकी थिइन्। तर, प्रहरीले जाहेरी सच्याउन आग्रह गरेपछि बिहीबार पुनः जाहेरी दिंदै सई नाथलाई मात्र प्रतिवादी बनाइएको थियो।

जाहेरीपछि प्रहरीले सई नाथलाई नियन्त्रणमा लिएको छ। त्यसपछि मृतकको परिवार शव बुझ्न तयार भएको बताइएको छ। सेती प्रादेशिक अस्पतालमा परीक्षणपछि शव परिवारलाई बुझाइने जनाइएको छ।

डडेल्धुराबाट २९ जेठमा पक्राउ परेका पालीलाई कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो। शनिबार परेकाले उनलाई असार १ गते मात्र अदालतमा पेश गरिएको थियो। सोही दिन उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको थियो।

तर, असार २ गते राति साढे १० बजे बाथरुम नजिकै अचेत अवस्थामा भेटिएका पालीको सोही राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। शरीरमा चोटपटक देखिएकाले परिवारले योजनाबद्ध हत्या भएको दाबी गर्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update