Paschim Express
डडेल्धुरामा करिब ३० हजार नागरिक मनसुनजन्य विपद्को जोखिममा

डडेल्धुरा । यो वर्षको मनसुनसँगै सुदूरपश्चिम प्रदेशभर प्राकृतिक विपद्को उच्च जोखिम देखिएको छ। सरकारी पूर्वानुमानअनुसार ५२ हजारभन्दा बढी घरपरिवारका करिब २ लाख २८ हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ।

डडेल्धुरामा मात्रै १३ हजार ५ सय घरपरिवारका २९ हजार ५९३ नागरिक जोखिममा छन्। तर, जिल्लाको प्रमुख स्थानीय तह अमरगढी नगरपालिकाले अहिलेसम्म पनि अनुमानित प्रभावितहरूको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा बुझाउन सकेको छैन। नगर इन्जिनियर कविन्द्रराज भट्टले विपद् मूल्यांकनका लागि आवश्यक प्राविधिक जनशक्ति अभाव भएको बताए।

डडेल्धुराका सात स्थानीय तहहरूमध्ये सबैभन्दा बढी जोखिममा आलिताल गाउँपालिका रहेको छ, जहाँ ७ हजार ८५३ घरपरिवार प्रभावित हुने अनुमान छ। अन्य तहहरूमा परशुराम नगरपालिकामा ३ हजार ९५१, भागेश्वर गाउँपालिकामा ५१०, नवदुर्गा गाउँपालिकामा ३११, अजयमेरु गाउँपालिकामा २०७, र गन्यापधुरा गाउँपालिकामा १६७ घरपरिवार जोखिममा परेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिले संभावित जोखिमयुक्त क्षेत्र पहिचान गरी राहत र उद्धारका लागि अस्थायी शिविर, राहत सामग्री, सञ्चार समन्वय, आपतकालीन खाद्य जोहो तथा प्राथमिक उपचार सामग्री तयारीमा राखेको जनाएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, र नेपाली सेनालाई उद्धारको प्रमुख जिम्मेवारी दिइएको छ।

सुदूरपश्चिमका कञ्चनपुर, कैलाली, बैतडी, डोटी, बाजुरा, दार्चुला, बझाङ, अछाम र डडेल्धुरा गरी नौ जिल्लामा विपद्को जोखिम देखिएको छ। कञ्चनपुरमा सबैभन्दा धेरै ३६ हजार ८९६ नागरिक जोखिममा रहेका छन् भने कैलाली, बैतडी, बाजुरा र डडेल्धुरामा पनि ठूलो संख्यामा नागरिक प्रभावित हुने अनुमान छ।

यद्यपि, केही स्थानीय तहहरूले अझै पनि आधारभूत डेटा नै नपठाएका कारण समग्र विपद् व्यवस्थापन चुनौतीपूर्ण हुने संकेत देखिएको छ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update