
डोटी । डोटीको आदर्श गाउँपालिका–१ मौवामा भएको जिप दुर्घटनाका मृतक र घाइतेको परिचय खुलेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सायल गाउँपालिका– ४ सुण्डकी ४१ वर्षीया हरुदेवी विक र आदर्श गाउँपालिका– ७ दडिमानाका २७ वर्षीय सुरेश कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी विनोद शर्माले जानकारी दिए । कार्की जिप चालक हुन् । यस्तै, सायल गाउँपालिका– ६ कटुवालका ३५ वर्षीया काली कटुवालको उपचारका क्रममा मृत्यु भएको छ ।
गर्भवती रहेकी कटुवालको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको एसपी शर्माले बताए । आदर्श गाउँपालिका–३ नुवाकोट का १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, आदर्श गाउँपालिका– ७ दडिबानाका २२ वर्षीय कैलाश बिष्ट, १४ वर्षीय दीपक बिष्ट, सायल गाउँपालिका– ६ की ९ वर्षीया सविता कटुवाल घाइते भएका छन् ।
उनीहरूमध्ये कैलाश बिष्टबाहेक चार जनाको अवस्था गम्भीर रहेको एसपी शर्माले जानकारी दिए । घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।