
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वर्षा जन्य विपद् न्यूनीकरण तथा पूर्वतयारीका लागि सुरक्षासहित सबै सरोकार निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको 'वर्षा जन्य विपद् पूर्वानुमान, तयारी अवस्था र सहजिकरणसम्बन्धी बैठक'मा उनले वडास्तरबाटै समन्वय गर्दै तत्काल राहत र उद्धार सुनिश्चित गर्ने खालका तयारी गर्न निर्देशन दिए।
बैठकमा कैलाली, कञ्चनपुर, डोटी, अछाम र बाजुरामा बाढी, पहिरो र गर्मीबाट उच्च जोखिम हुने अनुमान गरिएको जानकारी दिइएको थियो। जलवायु परिवर्तनका कारण यस वर्ष सरदर वर्षा र तापक्रम बढ्ने पूर्वानुमान प्रस्तुत गरिएको थियो।
बैठकमा प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, यूएनडिपी, डब्लूएफपीलगायत साझेदार संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उनीहरूले विपद्ले पारेको असर, हालसम्म गरिएको प्रयास र आगामी तयारीबारे जानकारी गराएका थिए।
मुख्यमन्त्री शाहले स्थानीय तह, सुरक्षा निकाय र साझेदार संस्थाबीच घनिष्ठ समन्वय गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन जोड दिए।