Paschim Express
दार्चुलामा छाना र डेस्कबिनाको विद्यालय, कार्पेटमा बसेर पढ्न बाध्य बालबालिका

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–७ मा रहेको भैरवनाथ आधारभूत विद्यालयमा दुई वर्षअघि आएको हावाहुरीले उडाएको छाना हालसम्म मर्मत नहुँदा पठनपाठनमा गम्भीर असर परेको छ।

विद्यालयको छाना उडेको लामो समय बित्दासमेत सम्बन्धित निकायबाट बजेट नआउँदा मर्मत हुन नसकेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयमा ढोका, झ्याल, डेस्क–बेंचको समेत अभाव रहेको र विद्यार्थीहरू कार्पेटमा बसेर पढ्न बाध्य भएको स्थानीय अभिभावकहरूको गुनासो छ।

“विद्यालयमा न छाना छ, न ढोका, न त बस्ने बेन्च नै। हाम्रा बालबालिकाले सुरक्षित वातावरणमा कहिले पढ्न पाउने हुन्, थाहा छैन,” एक अभिभावकले चिन्ता व्यक्त गरे।

वि.सं. २०६८ मा स्थापना भएको विद्यालयमा हाल कक्षा ३ सम्म अध्ययन हुने गर्छ। कागजमा ३४ विद्यार्थी दर्ता भए पनि नियमित रुपमा २५ जना मात्र विद्यालय आउँछन्।

स्थानीय सरकार तथा सरोकारवाला निकायहरूले विद्यालयको अवस्थाप्रति चासो नदेखाएको भन्दै स्थानीयले गुनासो गरेका छन्। बालबालिकाले त्रासका बीच अध्ययन गरिरहेकाले तत्काल भवन मर्मतको आवश्यकता रहेको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update