
डडेल्धुरा । जिल्ला सदरमुकाम बागबजार, तुफानडाँडा र कीर्तिपुरजस्ता क्षेत्रहरूमा दैनिक सयौँ सवारीसाधन र मानिसहरूको आवतजावत हुने भए पनि जेब्राक्रसजस्ता पैदल यात्रुका लागि पूर्वाधार नहुँदा सडक पार गर्न कठिन भएको छ।
डडेल्धुरामा चालू आर्थिक वर्षमा ५४ सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु र १०० भन्दा बढी घाइते भएका छन्, जसमा अधिकांश पैदल यात्री रहेका छन्। गाडीको चाप बढिरहेको अवस्थामा सडक पार गर्ने स्पष्ट संकेत र संरचना नहुनुले बालबालिका, वृद्धवृद्धा र महिलाहरू बढी जोखिममा छन्।
स्थानीय लक्ष्मण जाेशी भन्छन्, “स्कुल जान/आउन बालबालिका जोखिममा छन्, गाडीहरू रोकिँदैनन्, ट्राफिक संकेत पनि छैन।” व्यवसायी बसन्त नाथ र जीप चालक योगेन्द्र मल्लले पनि पैदल यात्रु र चालक दुवै असुरक्षित बनेको बताए।
हालसम्म जिल्ला ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम र सूचना बोर्डहरू मात्रै राखेको छ। प्रहरी नायब निरीक्षक हर्कबहादुर साउदले भने, “सुरक्षित सडक पार व्यवस्थाका लागि छलफल भइरहेको छ।”
स्थानीयहरूले सदरमुकामका मुख्य स्थानमा जेब्राक्रस जस्ता पूर्वाधार तत्काल निर्माण गर्न माग गरेका छन्।