Paschim Express
भारतमा गाडी ठक्करबाट बैतडीका महेशको मृत्यु

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ सेला घर भएका २५ वर्षीय महेश साउदको भारतको हरियाणामा सडक दुर्घटनामा परी मृत्यु भएको छ।

बुधबार  राति ११ बजे पिपलीस्थित काम सकेर कोठामा फर्किने क्रममा गाडीको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको भारतस्थित सुरेन्द्र साउदले जानकारी दिएका छन्।

महेश वैदेशिक रोजगारीको सिलसिलामा भारत गएका थिए। उनको निधनसँगै परिवार शोकमा डुबेको छ। पाँच वर्षीय छोरा, श्रीमती र वृद्ध बुवालाई छाडेर परदेश पुगेका महेशको असामयिक निधनले सिङ्गो गाउँ नै शोकमा परेको छ।

मृतकका आफन्त रामसिंह साउदका अनुसार घरको एक्लो कमाउने व्यक्तिको निधन भएपछि परिवार ठूलो संकटमा परेको छ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update