
डडेल्धुरा । डडेल्धुरा सदरमुकामको बजार क्षेत्रमा बिहीबारदेखि पहिलोपटक जेब्रा क्रसिङ निर्माण गरिएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अगुवाइमा सुरु भएको अभियान अन्तर्गत प्रारम्भिक चरणमा बागबजार, बसपार्क र तुफानडाँडा क्षेत्रमा जेब्रा क्रसिङ बनाइएको हो।
पैदल यात्रुका लागि अत्यन्त उपयोगी हुने विश्वाससहित सुरु गरिएको यो पहल डडेल्धुराको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा एक नयाँ मोड भएको देखिएको छ। दैनिक सडकपार गर्नुपर्ने सर्वसाधारणका लागि यो संरचना सहयोगी हुने जनाइएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले डडेल्धुरामा कार्यभार सम्हालेको पहिलो दिनमै यस्ता सकारात्मक कार्य आरम्भ हुनुले विकास र समृद्धिका लागि आफू सधैं तत्पर रहने बताए। “जेब्रा क्रसिङबाट दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिएको छु,” उनले भने।
अमरगढी नगरपालिका–५ का वडाध्यक्ष टंक क्षेत्रीले सबै पक्षको सहकार्यमा यो काम सम्भव भएको उल्लेख गर्दै यस्ता संरचनाहरू सडक सुरक्षाका लागि अनिवार्य रहेको बताए। “स्थानीयवासी र सुरक्षाकर्मीको समन्वयबाट यो सम्भव भएको हो,” उनले जोड दिए।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले पनि सवारीसाधन र पैदल यात्रुको चाप बढी हुने स्थानमा जेब्रा क्रसिङ आवश्यक रहेको बताए। उनका अनुसार, निर्माणस्थलहरूमा जनचेतनामूलक साइनबोर्डहरू पनि राखिएको छ।
प्रहरीका अनुसार आगामी दिनमा तुफानडाँडा, कीर्तिपुर, पोखरा, स्याउले र भातकाँडा क्षेत्रमा समेत जेब्रा क्रसिङ निर्माणको तयारी गरिएको छ। विगतमा जेब्रा क्रसिङको अभावमा सडक दुर्घटनाको जोखिमबारे पटक–पटक आवाज उठ्दै आएको थियो।
सडक सुरक्षा सुधारको संकेतस्वरूप यो कदमले डडेल्धुरामा नयाँ सकारात्मक वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।