
कैलाली । सुदूरपश्चिम प्रदेशमा यस वर्ष मनसुन अघिल्ला वर्षको तुलनामा अझ सक्रिय हुने अनुमान गरिएको छ। मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको घटना बढ्दै गएका छन्। सुदूरपश्चिमका पहाडी जिल्लाहरू डोटी, बाजुरा, अछाम, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलाका धेरै बस्ती पहिरोको उच्च जोखिममा छन्। त्यस्तै, कैलाली र कञ्चनपुरका केही क्षेत्र डुबानको उच्च सम्भावनामा रहेका छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार सम्भावित क्षति न्यूनीकरणका लागि सबै निकायलाई तयारी अवस्थामा राखिएको छ। उनले विपत् व्यवस्थापन समितिका सदस्यहरू, सुरक्षा निकाय, र स्थानीय स्वयंसेवकहरूलाई तयारीमा रहन निर्देशन दिइएको जानकारी दिए।
गत असार ४ गते कैलालीको गौरीगङ्गा क्षेत्रमा खोलाले बगाएर एक जनाको ज्यान गएको थियो। तराईमा डुबान र बाढी तथा पहाडमा पहिरोका कारण हरेक वर्ष जनधनको ठूलो क्षति हुने गरेको छ।
सुदूरपश्चिमको मुख्य सडक भीमदत्त राजमार्ग पहिरोका कारण पटक–पटक अवरुद्ध हुने हुँदा यात्रुहरू अलपत्र पर्ने गरेका छन्। यस वर्षका लागि आवश्यक पूर्वतयारीका सामग्री खरिददेखि जिल्लास्तरको समन्वयसम्मका काम सम्पन्न भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव आमोद दाहालले बताए।