
डडेल्धुरा । डडेल्धुराको अजयेमरु गाउँपालिका–२ चमडाका हिमालकुमार ऐरको परिवारमा ०८१ मंसिरमा बज्रपात पर्याे । माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा रहेका ऐरका बुवा लोकसिंह ऐरको मंसिर १० गते निधन भयो ।
भेटेरीनरी अस्पताल चमडामा कार्यालय सहयोगी रहेका ऐरले सेवा निवृत्त हुनुभन्दा चार महिनाअघि संसार छोडे । बुवा लोकसिंहको निधनपछि हिमालले १५ दिनसम्म त विद्यालय (सहश्रलिंग मावि चमडा) पनि जान पाएनन् । ‘त्यसपछि पनि एसईई परीक्षाको तयारी गर्दा सधैँ बुवाको याद आउथ्यो,’ हिमाल भन्छन्, ‘तर, मैले मेहेनत गर्न छोडेन ।’
शुक्रबार एसईई परीक्षाको नतिजा सार्वजनिक गर्दा हिमाल काठमाडौं थिए । ३.९२ जीपीए ल्याएर उनी डडेल्धुरा जिल्लामै सामुदायिक विद्यालयतर्फ टपर भएका छन् । उनीभन्दा बढी जीपीए ल्याउने निजी विद्यालयका एकजना विद्यार्थी मात्रै छन् । ग्रिन भ्याली बोडिङ स्कुल जोगबुढाकी छात्रा आकृति पाण्डेले ३.९५ जीपीए ल्याएकी छिन् ।
पितृशोकको अवस्थामा पनि गरिएको मेहेनतले फल दिएको हिमाल बताउँछन् । ‘बुवाको निधन भएपछि पनि मैले अध्ययनलाई पहिलेको जस्तै गरी निरन्तरता दिएको थिए,’ उनले भने, ‘त्यसैको फल अहिले पाएको छु ।’
एसईई दिएर काठमाडौं पुगेका हिमाल अब विज्ञान संकाय लिएर अध्ययनलाई अगाडि बढाउने तयारीमा छन् । ‘काठमाडौं महानगरले दिने छात्रवृत्तिका लागि प्रतिस्पर्धा गरिरहेको छु,’ उनले भने ।