Paschim Express
डडेल्धुरामा रोपाइँ र किसानलाई सम्मान गरेर मनाइयो धान दिवस

डडेल्धुरा । “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नाराका साथ डडेल्धुरामा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ।

अमरगढी नगरपालिका–३ डोटी घटालस्थित साउँद गाउँको खेतमा धान रोपाइँ गर्दै दिवस मनाइएको हो। कार्यक्रममा जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, सञ्चारकर्मी, कृषक लगायतको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको आयोजना कृषि ज्ञान केन्द्र डडेल्धुरा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सिँचाइ विकास डिभिजन, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, अमरगढी नगरपालिकाको कृषि शाखा र श्री हरियाली महिला कृषक समूहको सहकार्यमा गरिएको हो।

513912251_4866057736953073_5808373932335249813_n-1751187735.jpg
 

दिवसको अवसरमा कृषि उत्पादनमा उत्कृष्ट योगदान पुर्‍याएका डडेल्धुराका तीन किसानलाई ‘शहीद भीमदत्त पन्त उत्कृष्ट किसान पुरस्कार २०८२’ प्रदान गरिएको छ। सम्मानित हुनेमा गन्यापधुरा गाउँपालिका–२ का रबिन्द्र माली, परशुराम नगरपालिका–११ का मिलन घिमिरे, र अजयमेरु गाउँपालिका–२ की चन्द्राकुमारी ओझा रहेका छन्। उनीहरूलाई जनही २५ हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो।

६० प्रतिशत रोपाइँ सम्पन्न

कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार, जिल्लामा कुल ६,१२० हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ। जसमध्ये करिब २० प्रतिशत क्षेत्रमा छरुवा घैया र बाँकी ८० प्रतिशत क्षेत्रमा रोपाइँ विधिबाट खेती गरिन्छ। हालसम्म करिब २,९३८ हेक्टर अर्थात् ६० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको जानकारी पनेरुले दिए।

मनसुन समयमै सुरु भएको र पानी पर्याप्त परिरहेको हुँदा सिँचाइमा निर्भर र वर्षामुखी दुवै क्षेत्रका किसानले समयमा नै बेर्ना राखेर रोपाइँ गर्न सफल भएका छन्।

डडेल्धुरामा गहुँपछि धान दोस्रो प्रमुख खाद्य बाली हो। गत वर्ष जिल्लामा ६,१२० हेक्टरमा धान खेती गरिएकामा कुल उत्पादन २०,४२० मेट्रिक टन रहेको थियो। प्रति हेक्टर औसत उत्पादन ३.३४ मेट्रिक टन रहेको थियो।

अगामी वर्ष उत्पादन वृद्धि हुने अपेक्षा

समयमै रोपाइँ सम्पन्न भएको र जल व्यवस्थापन सहज भएकोले यस वर्ष धान उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ। डडेल्धुराका विभिन्न भित्रीमधेस क्षेत्रहरू जोगबुडा, परशुराम, आलिताल, अजयमेरु, गन्यापधुरा लगायतका क्षेत्रमा धान खेती कृषि र खाद्य सुरक्षाको मेरुदण्ड मानिन्छ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update