
डडेल्धुरा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा डडेल्धुरा जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी परशुराम नगरपालिका–१२, जोगबुडाकी आकृति पाण्डेय बनेकी छन्। ग्रिनभ्याली इङ्गलिस बोर्डिङ स्कुलबाट परीक्षा दिएकी आकृतिले ३.९५ जीपीए प्राप्त गर्दै निजी विद्यालयतर्फ जिल्लामै प्रथम भएकी हुन्।
आकृतिका बुबा श्यामप्रसाद पाण्डेयका अनुसार उनी अध्ययनमा अत्यन्त समर्पित छिन्। धेरैजसो समय घरमै बिताउने, भीडभाड र बाहिरी घुमफिरमा रुचि नराख्ने र एकाग्र भएर पढ्ने स्वभावका कारण उनी अनुशासित र केन्द्रित विद्यार्थीको रूपमा चिनिएकी छन्।
२०६६ सालमा जन्मिएकी आकृति कक्षा ८ देखिनै विद्यालयमा प्रथम हुँदै आएकी थिइन्। उनमा अध्ययनको लगाव बाल्यकालदेखि नै देखिएको थियो। उनको यस उपलब्धिलाई भित्री मधेस क्षेत्रबाट आएका विद्यार्थीले पनि उत्कृष्टता हासिल गर्नसक्छन् भन्ने उदाहरणका रूपमा हेरिएको छ।
शिक्षक परिवारमा हुर्किएकी आकृतिका बुवा श्यामप्रसाद पाण्डेय भागेश्वर नमुना मावि कटालमा कार्यरत छन् भने आमा जानकी पाण्डेय परशुराम–५, परिगाउँस्थित महाकाली आविकी प्रधानाध्यापक हुन्। उनका हजुरबुवा पनि पूर्व शिक्षक हुन् भने ठुलबुवा कैलाशकुमार पाण्डेय साहित्य र राजनीतिमा सक्रिय व्यक्तित्व हुन्।
परिवारकै शैक्षिक वातावरण, हजुरबुबा, ठुलबुवा, आमाबुवासँग निरन्तर हुने पढाइसम्बन्धी छलफलले आकृतिलाई अझै उत्साही बनाएको नजिकका आफन्तहरू बताउँछन्। ठुलबुवाको छोरी पुष्पाञ्जली पाण्डेय पनि यसै विद्यालयबाट अघिल्लो वर्ष जिल्ला प्रथम भएकी थिइन्। उनका भाइ हाल कक्षा ८ मा पढ्दै छन्।
स्वास्थ्य क्षेत्रमा काम गर्ने लक्ष्य बोकेकी आकृतिले अब विज्ञान संकाय लिएर अध्ययन अघि बढाउने सोच बनाएकी छिन्।