
डडेल्धुरा । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा डडेल्धुराका सात विद्यालय पूर्णरूपमा असफल भएका छन्। ती विद्यालयहरू ‘नील’ अर्थात् शून्य नतिजा भएका विद्यालय सूचीमा परेका हुन्। नील भएका विद्यालयहरूमध्ये भागेश्वर गाउँपालिकाका तीन, अमरगढी नगरपालिकाका दुई, अजयमेरु गाउँपालिकाको एक र परशुराम नगरपालिकाको एक विद्यालय रहेका छन्।
शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका अनुसार भागेश्वर गाउँपालिकाको सरस्वती नमूना माध्यमिक विद्यालय बोगटा, कैलपाल मावि पत्रम र कैलपाल मावि पन्युट, अमरगढीको महेन्द्र मावि(खुला) र उग्रतारा वेद विद्या आश्रम; अजयमेरुको बालकल्याण नमूना मावि पुइलेक र परशुराम नगरपालिकाको वैजनाथ मावि सलेता नील भएका हुन्।
एकातर्फ केही विद्यालय पूर्णरूपमा असफल हुँदा अर्कोतर्फ गन्यापधुरा गाउँपालिकाका विद्यालयहरूले भने सानदार नतिजा हासिल गरेका छन्। समन्वय इकाइका अनुसार गन्यापधुरा गाउँपालिकाको ग्रेडेड दर सबैभन्दा उच्च ४८.१९ प्रतिशत रहेको छ। त्यसपछिको स्थानमा अमरगढी नगरपालिका ४१.७६ प्रतिशतसहित रहेको छ।
त्यस्तै, अजयमेरु ३३.१८, आलिताल १९.८७, नवदुर्गा १९.७७ प्रतिशत ग्रेडेड दरसहित रहेका छन् भने परशुराम नगरपालिका भने सबैभन्दा कमजोर नतिजा देखिएको पालिका बनेको छ। परशुराममा ग्रेडेड दर केवल १६.९९ प्रतिशत मात्र रहेको छ।