
डडेल्धुरा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा सुदूरपश्चिमकाे बाजुरा उत्कृष्ट देखिएको छ भने डडेल्धुरा जिल्ला सबैभन्दा कमजोर देखिएको छ।
शिक्षा विकास निर्देशनालय डोटीका अनुसार बाजुराबाट नियमित तर्फ २,३१८ विद्यार्थी सहभागी हुँदा १,१९९ विद्यार्थी उत्तीर्ण भएका छन्, जसअनुसार उत्तीर्ण दर ५८.७२ प्रतिशत पुगेको हो। यो सुदूरपश्चिम प्रदेशकै उच्च दर हो।
बाजुरापछि बैतडी जिल्लाले ५२.२९ प्रतिशत उत्तीर्ण दरसहित दोस्रो स्थान ओगटेको छ। बैतडीबाट ४,२१८ मध्ये २,२०६ विद्यार्थी उत्तीर्ण भएका छन्। कञ्चनपुरमा ८,८२९ मध्ये ४,८३५ अर्थात् ४५.२३ प्रतिशत विद्यार्थी सफल भएका छन् भने कैलालीमा १४,३६६ मध्ये ६,१७९ अर्थात् ४३.०१ प्रतिशतले परीक्षा पास गरेका छन्।
यस्तै, अछामबाट ४०.७५, डोटीबाट ३६.८२, दार्चुलाबाट ३५.०५, र बझाङबाट ३१.३७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।
सबैभन्दा कमजोर प्रदर्शन डडेल्धुराको रह्यो, जहाँ १,८४८ मध्ये केवल ५३६ विद्यार्थी उत्तीर्ण भए। अर्थात् मात्र २७.५१ प्रतिशत मात्रै।
निर्देशनालयका अनुसार, सुदूरपश्चिमबाट नियमिततर्फ ४६,३७८ विद्यार्थी एसईईमा सहभागी भएका थिए, जसमा १९,५३९ जना उत्तीर्ण भए। यो ४०.६४ प्रतिशत सफलता दर हो।
नियमित नतिजाका आधारमा पहाडी ७ जिल्लाको औसत उत्तीर्ण दर ४०.३६ प्रतिशत रहेको छ भने तराईका कैलाली र कञ्चनपुरमा ४४.१२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले असार १४ गते सार्वजनिक गरेको देशव्यापी नतिजा अनुसार यसपटक नियमित र आंशिक गरी ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए, जुन गत वर्षको तुलनामा १३.९४ प्रतिशतले बढी हो। सुदूरपश्चिममा भने समग्रतामा ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।