
दार्चुला । दार्चुलाको छाङरु र तिंकर पुग्नका लागि निर्माण भइरहेको पैदल मार्गको काम अन्तिम चरणमा पुगेको छ। व्यास गाउँपालिका–१ छाङरुसम्म जोखिमपूर्ण घोरेटो बाटो निर्माण तीव्र गतिमा भइरहेको निर्माण कम्पनीले जानकारी दिएको छ।
व्यास–२ दुम्लिङदेखि व्यास–१ छाङरुसम्मको ३१ किलोमिटर लामो घोरेटो बाटोमध्ये ९० प्रतिशत काम पूरा भइसकेको मिसन–देवहरि जेभीका निर्माण व्यवसायी केशवबहादुर पालले जानकारी दिए।
दुई सयभन्दा बढी परिवार बसोबास गर्ने छाङरु र तिंकरका बासिन्दालाई अहिलेसम्म भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। नयाँ बाटो निर्माणले अब त्यो निर्भरता हट्ने भएपछि स्थानीय बासिन्दा उत्साहित छन्।
महाकाली नदीमाथि डोरीको सहायतामा कामदारहरू चट्टानी भागमा ड्रिल गर्दै काम गरिरहेका छन्। विशेषगरी माल्पा भीरजस्तो जोखिमपूर्ण क्षेत्रमा समेत निर्माण कार्य लगभग पूरा भइसकेको जनाइएको छ।
यस पैदलमार्ग निर्माणका लागि संघीय सरकारले व्यास गाउँपालिकालाई ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।