Paschim Express
खप्तड नियुक्ति विवादले मुख्यमन्त्री शाह-नाउपाकाे सम्बन्धमा चिसाेपना, सरकारको दुई तिहाई गुम्यो

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदबाट बर्खास्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट डेढ महिना अघि नियुक्त भएका चौधरीलाई एकलौटी निर्णय गरेको आरोपमा बर्खास्त गरिएको हो।

चौधरीले खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यकारी निर्देशकमा खेमराज जोशीलाई सल्लाहबिनै नियुक्त गरेका थिए। यसैलाई लिएर मुख्यमन्त्री शाहले राजीनामा दिन आग्रह गर्दा चौधरीले अस्वीकार गर्दै बर्खास्त गर्न चुनौती दिएका थिए। अन्ततः शाहले चौधरीलाई पदबाट हटाए।

तर यस घटनाले राजनीतिक असर ल्याएको छ। चौधरी बर्खास्त गरिएपछि नाउपाको संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। सात सदस्यीय संसदीय दलको बैठकमा चार जना सांसदको उपस्थिति थियो।

नाउपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाहको दुई तिहाई बहुमत गुमेको छ। तर  नेकपा एमालेको समर्थन कायमै रहेकाले ५३ सदस्यीय प्रदेशसभामा आवश्यक २७ सांसदको समर्थन अझै शाहसँग छ।

मुख्यमन्त्री शाहले नाउपाका मन्त्रीलाई बर्खास्त गरे पनि पार्टीलाई सरकारबाट बाहिर राख्ने मनसाय नभएको बताउँदै भविष्यमा पनि नाउपा गठबन्धनमै रहने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update