Paschim Express
रसुवाको ल्हेन्दे खोलामा बाढी: बझाङ घर भएका प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं । चीन सिमानासँग जोडिएको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीमा परी १८ जना बेपत्ता भएका छन्, जसमा तीन जना नेपाली प्रहरी र छ जना चिनियाँ नागरिक पनि छन्।

सशस्त्र प्रहरीले उपलब्ध गराएको विवरण अनुसार, बेपत्ता हुने नेपाली सुरक्षाकर्मीहरूमा इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ (रामेछाप), प्रहरी जवान मुन्ना ठाकुर (बारा), र प्रहरी जवान लोकेन्द्र बोहोरा (बझाङ) रहेका छन्।

बेपत्ता चिनियाँ नागरिकहरूको नाम YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU, र JOU YONG रहेको छ। उनीहरूको उमेर भने खुलाइएको छैन।

त्यस्तै, अन्य ९ जना नेपाली नागरिकहरू पनि बाढीमा बेपत्ता भएका छन्। तीमध्ये बर्दियाका जिपन चौधरी, बाग्लुङका नरेन्द्र विक, र अन्य थरु समुदायका सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, साथै कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ रहेका छन्।

बाढीले सडक, संरचना र जनधनमा पनि क्षति पुर्याएको आशंका गरिएको छ। खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरीको टोली खटिएको छ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update