Paschim Express
डडेल्धुराकाे साँदनी खोलामा फसेकी दुई महिलाकाे सशस्त्र प्रहरीद्वारा उद्दार

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–७ स्थित साँदनी खोलामा फसेका दुई महिलाको आज सशस्त्र प्रहरीले उद्दार गरेको छ ।

बुधबार दिउँसो करिब १२ बजे अत्यधिक वर्षाका कारण खोलामा एक्कासि आएको बाढीले २२ वर्षीया रितु भारती र २५ वर्षीया भुवनेश्वरी सिंहलाई खोलाको बीच भागमा अड्काइदिएको थियो। उनीहरू गाईबाख्रा चराउन गएका बेला बाढीले घेरेको हो।

घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५२ गुल्म डडेल्धुराले तुरुन्तै उद्दार टोली परिचालन गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक साजेन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बीओपी तातापानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक दीपक खड्काको नेतृत्वमा ७ जनाको टोली र बीओपी साँदनीबाट सशस्त्र प्रहरी नायब निरीक्षक चेतन रास्कोटीको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा पठाइएको थियो। तीमध्ये ४ जना विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मी थिए।

१२ जनाको टोलीले जोखिम मोलेर खोलाको बीचमा फसेका दुवै महिलालाई सकुशल उद्दार गरेको हो।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update