
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–६ स्याउलेस्थित पूर्व–पश्चिम राजमार्गमा अटोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म १ ह ८५८ नम्बरको अटोले सोही दिशातर्फ पैदल हिँड्दै गरेकी ५५ वर्षीया लक्ष्मी ढुङगाना र २२ वर्षीया मिना ढुङगानालाई बुधवार साँझ करिब ८ बजे पछाडिबाट ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते दुवैलाई तत्काल भल्का अस्पताल लम्की, कैलाली हुँदै कोहलपुरस्थित मेडिकल कलेज, बाँके लगिएको थियो। तर, उपचारका क्रममा राति १०:२० बजे लक्ष्मी ढुङगानाको मृत्यु भएको प्रहरीले जनाएको छ। मिना ढुङगानाको भने उपचार भइरहेको जनाइएको छ।
दुर्घटनामा संलग्न अटो र चालक २३ वर्षीय हेमन्त जोशीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ।