Paschim Express
धनगढीका २८ विद्यालयमा भूकम्प र आगलागी सम्बन्धी नमूना अभ्यास

धनगढी । कैलालीकाे  धनगढी उपमहानगरपालिका अन्तर्गतका २८ सामुदायिक विद्यालयमा विद्यालयस्तरीय भूकम्पीय सुरक्षा, पूर्वतयारी र घरायसी आगलागीसम्बन्धी कृत्रिम (नमुना) अभ्यास कार्यक्रम सम्पन्न भएको छ।

उपमहानगरपालिका भित्र सम्भावित विपद्‌हरूको पूर्वतयारी र प्रभावकारी प्रतिकार्यका लागि समन्वयकारी क्षमता विकास गर्ने उद्देश्यसहित उपमहानगरका १९ वटै वडामा रहेका २८ विद्यालयमा एक-एक दिनको नमूना अभ्यास कार्यक्रम सञ्चालन गरिएको हो।

514639702_1899754580902499_5846008222157194400_n-1752126082.jpg
 

कार्यक्रममा धनगढी उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखा, नगर प्रहरी, २८ वटै विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, सरोकारवाला निकायहरू र क्षेत्रगत जनशक्ति सहभागी थिए। अभ्यासमा विपद् पूर्व, दौरान र पश्चात गरिने कार्यहरू समेटिएको थियो।

धनगढी उपमहानगरपालिकाका विपद् सम्पर्क व्यक्ति दीपक भण्डारीका अनुसार, यस्तो अभ्यासले आपतकालीन अवस्थाको व्यवस्थापन, समन्वय र क्षति न्यूनीकरणमा विद्यालयस्तरका स्वयंसेवक विद्यार्थीहरूको भूमिका सशक्त बनाउने विश्वास गरिएको छ।

516353138_1643742836299220_7853923869426005563_n-1752126096.jpg
 

कार्यक्रम धनगढी उपमहानगरपालिकाको आयोजना, युरोपेली आयोगको आर्थिक सहयोग तथा युएनडीपी नेपाल, युनिसेफ नेपाल, युएन वुमन, हेन्डीक्याप इन्टरनेसनलको प्राविधिक साथमा, स्थानीय साझेदार संस्था रुडुक नेपाल र नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको सहकार्यमा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी SUPER-II परियोजना अन्तर्गत सम्पन्न भएको हो।

कार्यक्रममा सहभागी वडा अध्यक्षहरूले आगामी दिनमा विपद् प्रतिकार्यका लागि प्रविधि तथा मानव संसाधनको समुचित परिचालन, सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय तथा विद्यालय र समुदायस्तरमै सचेतनामूलक र अभ्यासमूलक गतिविधि नियमित रूपमा सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे।

514758910_9820901148038065_3482300564620918414_n-1752126109.jpg
 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update