
डडेल्धुरा । छाउपडी प्रथाका कारण फेरि एक महिलाले ज्यान गुमाएकी छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला दमाईको सोमबार राति सर्पदंशबाट मृत्यु भएको हो।
स्थानीयका अनुसार कमला छिमेकीको घरछेउको छाउगोठमा सुत्न गएकी थिइन्। राति करिब ८ बजेतिर करेत जातको विषालु सर्पले डसेपछि उनलाई गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। तर, उपचारकै क्रममा उनको निधन भयो। उनी दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन्।
कमलाको परिवारसँग पक्की घर भए पनि सामाजिक कुरीति र अन्धविश्वासका कारण उनी छाउगोठमा बस्न बाध्य भएको स्थानीयले बताएका छन्।
यो घटनाले सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा अझै पनि गम्भीर रूपले जरा गाडिरहेको पुष्टि गर्छ। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत अपराध महाशाखाका अनुसार, २०७६ सालको भदौ महिनादेखि हालसम्म छाउगोठमा ८ जनाको मृत्यु र १ जनाको बलात्कार भएको तथ्यांक छ।
प्रहरी निरीक्षक सरस्वती अधिकारीका अनुसार, अछाममा मात्रै तीन महिलाको मृत्यु छाउगोठमै भएको छ भने एक महिला बलात्कारको शिकार भएकी छन्। कैलालीमा एक महिलाको मृत्यु बाघको आक्रमणबाट भएको हो भने कञ्चनपुरमा हालै सर्पदंशबाट कमलाको मृत्यु भएको हो। बाजुरामा भने छाउगोठमै आगलागी हुँदा एक आमा र छोराले ज्यान गुमाएका थिए।
प्रहरी निरीक्षक अधिकारी भन्छिन्, “छाउगोठमै बस्ने परिस्थिति हटाउनुपर्छ। समाजमा गहिरो चेतना फैलाउन आवश्यक छ।” उनका अनुसार यस्ता घटनाहरू रोक्नका लागि कानुनी कदम मात्रै होइन, सामाजिक रूपान्तरण पनि अनिवार्य छ।
छाउपडी प्रथामाथि कानुनले रोक लगाए पनि व्यवहारमा यसको पालना अझै चुनौतीपूर्ण देखिएको छ। कमला दमाईको मृत्युले यो प्रथा अझै कति भयावह छ भन्ने कुरालाई पुनः सतहमा ल्याएको छ।