
डडेल्धुरा । साउन १ गतेदेखि लागू हुने निर्णय अनुसार डडेल्धुरा अस्पताल अब स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु रहने छैन। स्वास्थ्य बीमा बोर्ड, काठमाडौंले अस्पताललाई केवल रेफरल केन्द्र को रूपमा मात्र तोकेपछि यो व्यवस्था हटाइएको हो।
डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र कुमार खनालले सार्वजनिक गरेको सूचनामा साउन १ गतेदेखि बीमाको प्रथम सेवा विन्दुको रूपमा सेवा बन्द गरिने उल्लेख गरिएको छ।
सूचना अनुसार अबदेखि डडेल्धुरा अस्पतालमा सिधै गएर बीमाको सेवा लिन नमिल्ने भएको छ। सेवा लिन चाहने बीमितहरूले स्थानीय तहका सूचिकृत स्वास्थ्य संस्थाबाट रेफरल सिफारिस अनिवार्य रूपमा लिएर जानुपर्नेछ।
तर डडेल्धुरामा केवल परशुराम नगरपालिकाकाे जोगबुढा अस्पताल मात्र प्रथम सेवा विन्दुका रूपमा तोकिएको छ। जसका कारण उक्त क्षेत्रका केही सीमित सेवाग्राहीले मात्र बीमा सुविधा पाउने भएका छन्। बाँकी ६ वटा स्थानीय तहका बीमितहरूले डडेल्धुरा अस्पतालको बीमा सेवा उपयोग गर्न पाउने छैनन्।
स्वास्थ्य बीमा कार्यालय डडेल्धुराले माथिबाट आएको निर्देशन स्पष्ट नभएको र अलमलपूर्ण भएकाले हाल प्रदेश सरकारसँग छलफल भइरहेको जनाएको छ।
दर्ता अधिकारी दीपक बहादुर धामीले भने, "यो धेरै जटिल भएकोले प्रदेशसँग छलफल भइरहेको छ।" उनका अनुसार डडेल्धुराका ३२ हजार ९ सय ८४ जना स्वास्थ्य बीमामा आवद्ध छन्।
प्रदेश शाखा संयोजक जनक बहादुर साउदले भने, "प्रत्येक स्थानीय तहमा निर्माण हुने भनिएका अस्पतालबाट रेफर भएर आएका बिरामीले मात्र बीमा सेवा पाउने गरी नियमावली संशोधन गरिएको हो। तर हाल डडेल्धुरामा जोगबुढाबाहेक अन्य कुनै पनि अस्पताल प्रथम सेवा विन्दुका रूपमा तोकिएको छैन। त्यसैले अकस्मिकबाहेक अन्य बीमितले सेवा पाउने छैनन्।"
यस निर्णयले अस्पतालमा उपचार गराउँदै आएका हजारौं बीमित नागरिक अन्योलमा परेका छन्। विशेष गरी दुर्गम गाउँबाट आउने बिरामीहरूलाई अब नजिकको अस्पतालमा जान, त्यहाँबाट रेफरल सिफारिस ल्याउन र फेरि डडेल्धुरा आउनुपर्ने बाध्यता आइलाग्नेछ।
देशैभर चुलिंदै असन्तोष
स्वास्थ्य बीमा बोर्डको यस निर्णयप्रति देशका विभिन्न स्थानमा विरोध र असन्तोष देखिएको छ।
धरानमा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रथम सेवा विन्दु हटाइएपछि स्थानीयबासीहरूले प्रदर्शन गरेका छन्। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रतिष्ठानलाई पुनः प्रथम सेवा विन्दु कायम गर्न बोर्डलाई पत्र लेख्दै चेतावनी दिएका छन्
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको गण्डकी मेडिकल कलेज, तनहुँको स्वासप्रश्वास केन्द्र, काभ्रेको धुलिखेल अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, सबै स्थानबाट प्रथम सेवा विन्दु हटाइएपछि सेवाग्राहीहरू आक्रोशित भएका छन्। उनीहरूले सरकारको निर्णय फिर्ता लिन माग गर्दै आन्दोलन थालेका छन्।
बीमा बोर्डको तर्क यस्ताे
स्वास्थ्य बीमा बोर्डले भने ठूला अस्पतालहरूको चाप व्यवस्थापन गर्न र स्थानीय तहमा बीमा सेवा सुदृढ गर्न यो निर्णय आवश्यक रहेको दाबी गरेको छ। बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा भन्छन्, “सुरुमा केही असन्तुष्टि हुन सक्छ, तर दीर्घकालीन रूपमा बीमा प्रणाली पारदर्शी, प्रभावकारी र न्यायोचित बनाउने हाम्रो लक्ष्य हो।”
उनका अनुसार ३७७ वटा प्रथम सेवा विन्दु र ९८ वटा रेफरल अस्पताल गरी हाल ४७५ वटा स्वास्थ्य संस्था बीमा सेवाका लागि तोकिएका छन्।
बोर्डले स्थानीय तहका अस्पताललाई प्रथम सेवा विन्दु बनाउने कार्यलाई अघि बढाइरहेको छ। तर नियमावली संशोधन कार्य सात वर्षपछि मात्र कार्यान्वयनमा ल्याइएकाले अहिले सेवाग्राहीहरूमा झन ठूलो असहजता र भ्रम उत्पन्न भएको छ।