Paschim Express
दसैँ मनाएर परदेश लागे सुदूरपश्चिमेली

धनगढी । परिवारसंग दसैँ मनाउन घर फर्किएका सुदूरपश्चिमेलीहरु फेरि रोजगारीका लागि भारत जान थालेका छन् । पछिल्लो केही दिनयता पश्चिमी सीमा नाका गड्डाचौकी र त्रिनगरमा भारत जानेको लर्को लागेको हो । 

केही साताअघि दसैँ मनाउन घर फर्किनेहरूको भिडले खचाखच भएका यी नाकामा अहिले दसैँ सकेर परदेशतिर लाग्नेहरूको लाइन देखिन्छ । चाडको खुसी साटेर गह्रौँ मन लिएर परिवारको पेट पाल्नकै लागि उनीहरू फेरि भारततर्फ जाँदैछन् ।

भारतको उत्तराखण्डदेखि कालापहाड, रत्नागिरी, नयाँदिल्ली, मुम्बई र बैंग्लोरसम्म सुदूरपश्चिमेलीका पाइला पुग्ने गरेका छन् । कैयौंले आफ्नो पूरै जीवन भारतमै नोकरी गरेर गुजार्छन् । यो क्रम पुर्खाकै पालादेखि चल्दै आएको छ । सुदूरपश्चिमबाट मात्रै भारतमा काम गर्नेहरूको संख्या लाखौँ रहेको अनुमान छ । 

बझाङको दुर्गाथली गाउँपालिकाका ५५ वर्षीय बिर्खे धामी गौरीफन्टा नाकामा भारतको बैंग्लोर जाने गाडीको लाइनमा भेटिए । एक महिनाको दसैँ बिदा सकेर उनी आफ्नो पुरानै कर्मथलो फर्किंदै थिए । विगत १० वर्षदेखि उनले बैंग्लोरमा पसिना बगाएरै आफ्नो पाँच जनाको परिवार पाल्दै आएका छन् ।

‘उनको जस्तै अवस्था कैलालीको गौरीगंगा निवासी भीम साउदको पनि छ । उनी भारतको सुरतमा ज्याला मजदुरी गर्छन् र त्यही कमाइले उनको परिवारको चुलो बल्छ । 

लाइनमा उनीजस्तै बाजुराका टंक बुढा पनि थिए, जसले यसपालीको दसैँ लामो समयपछि सपरिवार मनाउन पाएका थिए । अब फेरि अनिश्चितकालका लागि विदेसिनुको पीडा उनको अनुहारमा प्रस्टै देखिन्थ्यो ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update