
धनगढी । बधुवा मजदुरको जीवनबाट मुक्ति पाएपनि २५ वर्षसम्म मुक्तकमैयाको न्यायिक पुनःस्थापना हुन सकेको छैन ।
कञ्चनपुरदेखि दाङसम्मका मुक्त कमैयाको परिचयपत्र पाइसकेका दुई हजार तीन सय ७५ परिवारको अझै पुनःस्थापना हुन नसकेको हो । परिचयपत्र पाएका २७ हजार ५७० मध्ये हालसम्म २५ हजार १९५ परिवारको पुनःस्थापना भएको छ ।
कैलालीमा ९ सय ५३, कञ्चनपुरमा ए सय २९, बर्दियामा एक हजार २४५ र दाङमा ४८ परिवारको अझै पुनःस्थापना हुन नसकेको मुक्त कमैया समाजले जनाएको छ । जमिन्दारको घरमा बँधुवा मजदुरका रूपमा काम गर्दै आएका उनीहरूलाई नेपाल सरकारले २०५७ साउन २ गते मुक्त भएको घोषणा गरेको थियो ।
सोही मितिलाई सम्झिदै भोलि (साउन २ गते) २५ औं मुक्त कमैया दिवस बनाइदै छ । सो अवसर पारेर कैलालीका केही स्थानीय तहले स्थानीय विदा दिएका छन् ।
पुनःस्थापना हुन नसकेपछि मुक्त कमैया परिवारहरु विचल्लीमा परेका छन् । कैलालीको कैलारी गाउँपालिका–३ ओमनगरकी कमला कुमालले सरकारले अहिलेसम्म कुनै पनि सुविधा उपलब्ध नगराएको दुखेसो पोखिन् । ‘हामी अहिलेसम्म पनि कुनै सरकारी सुविधा पाएका छैनौँ,’ उनले भनिन्, ‘हामीलाई खान बस्नको पनि समस्या छ । सरकारलाई छिटोभन्दा छिटो पुनःस्थापनाका लागि अनुरोध गर्न चाहान्छु ।’
धनगढी उपमहानगरपालिका–१ बसन्तटोलका जालुराम चौधरीले पुनःस्थापना नहुँदा डुवानको समस्या झेल्नु परेको बताए । ‘कहिले काँही भोकै सुत्नु पर्ने आवस्था आउँछ,’ उनले भने, ‘वर्षामा डुबानको समस्या हुन्छ । सरकारले हाम्रो उचित पुनःस्थापना गर्नु प¥यो ।’
मुक्त कमैया महिला विकास मञ्चकी पूर्व अध्यक्ष कौशिला चौधरीले मुक्ती घोषणाको लामो समयसम्म पनि पूर्णरुपमा पुनःस्थापना हुन नसकेको बताइन् । उनले भनिन् ‘सरकारले पुनःस्थापनाका लागि तदारुकता देखाएको छैन् । अब करिब ५÷७ प्रतिशत मुक्त कमैयाको पुनःस्थापना हुन बाँकी छ । हामीले बसेकै ठाउँमा नापनक्सा गरिदिन भनेका छौँ । धेरै कही मागेका छैनौँ । यसमा तीनै तहका सरकारले ध्यान दिन आवश्यक छ ।’
पुनःस्थापना गरिएका परिवारलाई समेत उचित स्थानमा बसोबास व्यवस्था नगरिएकोले विभिन्न समस्याको सामना गर्नु परेको छ । यसै साता सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले मुक्त कमैयाको पुनःस्थापनामा देखिएको समस्याबारे स्थलगत अनुगमन गर्दा पुनःस्थापना भएका मुक्त कमैयको समस्या पनि समाधान नभएको पाइएको छ ।