
डडेल्धुरा । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद (विपी) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा डडेल्धुरामा सामाजिक सेवा मूलक कार्यक्रम सम्पन्न गरिएको छ।
नेपाल तरूणदल जिल्ला कार्यसमिति डडेल्धुराले अमरगढी नगरपालिका–५, सेलागाउँस्थित अशिग्राम आधारभूत विद्यालय अन्तर्गत सञ्चालित बहिरा स्रोत केन्द्रमा खाद्यान्न सामग्री वितरण गरेको हो।
सो अवसरमा तरुण दल डडेल्धुराका अध्यक्ष करन बोहरा र नेपाली कांग्रेस अमरगढी नगर सभापति खेम भट्टले जननायक विपी कोइरालाप्रति श्रद्धासुमन अर्पण गर्दै सामाजिक सेवामार्फत उहाँको आदर्श पछ्याउनुपर्ने बताए।
कार्यक्रममा अध्यक्ष बोहराले भने, “विपी कोइरालाले राजनीति केवल सत्ताका लागि नभई जनताको सेवाका लागि हो भन्ने दृष्टिकोण राख्नुभएको थियो। आजको दिनमा उहाँको स्मृतिमा हामी सामाजिक सेवामार्फत उहाँको विचार र आदर्श अनुसरण गर्ने प्रयासमा छौं।”
खाद्यान्न वितरण कार्यक्रममा स्थानीय बालबालिका, विद्यालय प्रशासन र समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वितरण गरिएका सामग्रीहरूमा चामल, दाल, नुन, तेललगायतका उपभोग्य वस्तु समावेश थिए।