
डडेल्धुरा । रोजगारी दिलाइदिन्छु भन्ने झुटो आश्वासन दिँदै युवायुवतीलाई ठगी गर्ने गिरोह सुर्खेतमा पक्राउ परेको छ। वीरेन्द्रनगर–३ मा सञ्चालित ‘स्काई ड्रिम इन्टरप्रेनर्स’ र ‘ग्लोबल ओरियन्स नेपाल’ नामक कम्पनीमार्फत नेटवर्किङ व्यवसायको नाममा करोडौं रुपैयाँ ठगी गर्ने समूह पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ती कम्पनीहरूले विभिन्न जिल्लाका बेरोजगार युवायुवतीलाई आकर्षक तलब हुने रोजगारी दिने प्रलोभन देखाउँदै वार्षिक २० हजार रुपैयाँ असुल्थे। त्यसबापत खाना, बस्न र कोठाको व्यवस्था गरिन्छ भनेर उनीहरूलाई नेटवर्किङमार्फत काममा लगाउँथे।
उनीहरूलाई नयाँ सदस्य थप्न दबाब दिँदै प्रति व्यक्ति ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म असुल गरिएको थियो। यस्तै उजुरीका आधारमा प्रहरीले ती कम्पनीका सञ्चालक र कर्मचारीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा डोटी सायल गाउँपालिका–२ का २६ वर्षीय नरेश बोहोरा, दार्चुला महाकाली गाउँपालिका–४ का २४ वर्षीय कृष्ण धामी, अछामका कमल र रवीन्द्र शाही, कञ्चनपुरकी मनिषा सिंह र निर्मला धामी, बैतडीकी सुनिता साउद तथा डोटीकी कमला चिमाल रहेका छन्।
प्रहरीका अनुसार ठगीसम्बन्धी उजुरीपछि घटनाको अनुसन्धान थालिएको छ। प्रारम्भिक अनुसन्धानले उनीहरूलाई ठगीमा संलग्न देखिएकाले आरोप पुष्टि भए कानूनअनुसार कडा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।