Paschim Express
डडेल्धुराको जोगबुडा प्रशासन कार्यालय महिनौँदेखि नेतृत्वविहीन

डडेल्धुरा । डडेल्धुराको जोगबुडा स्थित इलाका प्रशासन कार्यालय महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि आधारभूत सरकारी सेवा अवरुद्ध भएको छ। नागरिकता सिफारिस, राहदानी सिफारिस, जग्गा सम्बन्धी कागजपत्रलगायत अत्यावश्यक सेवा लिन स्थानीयवासीहरू जिल्ला सदरमुकाम धाउन बाध्य भएका छन्।

हाल कार्यालयमा सीमित कर्मचारी मात्र कार्यरत छन्। ती कर्मचारीले राष्ट्रिय परिचयपत्र वितरण र सामान्य पत्राचारबाहेक अन्य सेवा दिन असमर्थता जनाइरहेका छन्। कार्यालय सञ्चालनका लागि असार २२ गते एक महिनाको काजमा पठाइएका नायब सुब्बा राम बाबू बरालसमेत अहिलेसम्म कार्यस्थल नपुगेपछि समस्या झनै चर्किएको हो।

अहिले आर्थिक वर्षको सुरुआती महिना चलिरहेको हुँदा सामाजिक सुरक्षा भत्ता नवीकरण, अपाङ्गता परिचयपत्र, वृद्धभत्ता अद्यावधिकजस्ता कामहरू पनि प्रभावित भएका छन्। सेवाग्राहीहरू हरेक दिन प्रशासन कार्यालय पुगेर रित्तो हात फर्कन बाध्य छन्।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्धन गौतमले कर्मचारी अभाव टार्न मन्त्रालयलाई बारम्बार आग्रह गरिएको बताए। “हामीले मन्त्रालयलाई नियमित सूचना पठाएका छौँ,” उनले भने, “मन्त्रालयले कर्मचारी पठाउने आश्वासन त दिएको छ, तर कहिले पठाउने भन्ने स्पष्ट छैन।”

स्थानीय जनप्रतिनिधि र नागरिकले अब ढिलाइ नगरी स्थायी रूपमा प्रमुख प्रशासकीय अधिकृत खटाउन सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update