
डडेल्धुरा । डडेल्धुराको ऐतिहासिक अमरगढी किल्ला पुनःजीवित हुने दिशामा अघि बढेको छ। सदियौँ पुरानो यो किल्लामा नयाँ कोतघरसहित संरचनागत पुनर्निर्माण कार्य सुरु गरिएको हो। यससँगै युद्धकालीन दस्तावेज, हतियार र किल्लासम्बन्धी सामग्रीहरू व्यवस्थित ढंगले संरक्षण र प्रदर्शन गरिने तयारी भएको छ।
सन् १८४७ ईसापूर्वतिर गोर्खाली सेनापति अमरसिंह थापाले निर्माण गराएकाे अमरगढी किल्ला तत्कालीन कुमाउँ युद्ध र नेपाल राज्य विस्तारको ऐतिहासिक सन्दर्भमा एक महत्वपूर्ण प्रमाण हो। हाल अमरगढी नगरपालिका–५, खलंगामा अवस्थित यस किल्लालाई पुरानै स्वरूपमा फर्काउने अभियान थालिएको हो।
नयाँ निर्माण भइरहेको कोतघरमा तत्कालीन युद्धमा प्रयोग भएका हतियार, अभिलेख, तस्बिर, र किल्लासम्बन्धी पुस्तकहरू प्रदर्शन गरिनेछन्। किल्लाको भित्री र बाहिरी भागका ढुङ्गाका संरचनाहरूलाई यथासम्भव पुरानै बनावटमा पुनर्निर्माण गर्ने लक्ष्य लिइएको छ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्धन गौतमले केही दिनअघि यस पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन्। निर्माण कार्य संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीको प्राविधिक सुपरिवेक्षणमा करिब १ करोड ५० लाख रुपैयाँको लागतमा अघि बढाइएको छ। काम अमरगढी नगरपालिका र अर्जुन बाण गण डडेल्धुराको प्रत्यक्ष निगरानीमा छ।
इतिहासकारहरूका अनुसार अमरगढी किल्ला अमरसिंह थापाले कुमाउँ आक्रमणको सन्दर्भमा युद्ध रणनीति, सुरक्षा र प्रशासनिक कार्यका लागि बनाएका थिए।