
काठमाडौं । इन्स्टिच्युट अफ इञ्जिनियरिङ (आईओई) थापाथली क्याम्पसमा सुदूरपश्चिम इञ्जिनियरिङ विद्यार्थी समाजद्वारा आयोजित स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री माननीय सरस्वती खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै राज्यमन्त्री खड्काले प्रविधि, निर्माण र विकासका क्षेत्रमा इञ्जिनियरहरूको योगदान महत्वपूर्ण रहेको बताइन्। उनले भनिन्, “देशको समृद्धिका लागि दक्ष इञ्जिनियरहरूको आवश्यकता छ। तपाईंहरू नयाँ पुस्ता देशका लागि सम्पत्ति हुनुहुन्छ। अध्ययनसँगै नेतृत्व क्षमताको पनि विकास गर्नुस्।”
उनले थापाथली क्याम्पसमा अध्ययनरत सुदूरपश्चिमका विद्यार्थीहरूलाई आफ्नो प्रदेशको पहिचान बोक्ने दूतको रूपमा जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरिन्। राज्यमन्त्री खड्काले राज्यको तर्फबाट शिक्षा, स्वास्थ्य र अवसरको पहुँच सबै स्थानमा समान रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा संस्थाका पदाधिकारीहरू, शिक्षकहरू, हाल अध्ययनरत विद्यार्थीहरू र बिदाइ हुँदै गरेका वरिष्ठ विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, अनुभव साटासाट तथा सम्मान कार्यक्रम समेत आयोजना गरिएको थियो।