Paschim Express
सुदूरपश्चिमका मुख्यमन्त्रीले १५ गते विश्वासको मत लिने

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही १५ साउनमा विश्वासको मत लिने भएका छन् । १५ साउनमा बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने भएका हुन् । सोमबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकपछि विश्वासको मत लिन मिति तय गरिएको हो । 

दलको बैठकले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । दलको बैठकले पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीपसमेत जारी गरेको छ । 

२० असारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । पार्टीको संसदीय दलको बैठकले प्रदेशका मुख्यमन्त्री शाहले आफ्ना मन्त्रीलाई बिनाकारण बर्खास्त गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । 

प्रदेशसभामा सात जना सासंद भएको उन्मुक्तिले सरकारबाट समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री शाहलाई सांख्यिक रूपमा केही फरक पर्दैन । सरकार टिकाउन २७ जनाको समर्थन आवश्यक रहेकोमा कांग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको समर्थन मुख्यमन्त्री शाहलाई यथावत छ, जसका कारण एमालेको समर्थन रहेसम्म मुख्यमन्त्री शाहको कुर्सी सुरक्षित छ । 

सरकारमा सहभागी भएका दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । 

प्रकाशित मिति: सोमबार, साउन १३, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update