
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले राजधानी धनगढी सार्ने तयारी अघि बढाएपछि गोदावरी क्षेत्रमा विरोध सुरु भएको छ। अघिल्लो प्रदेशसभाले दुई तिहाइ बहुमतका आधारमा गोदावरी–२ र ४ लाई राजधानी घोषणा गरे पनि ती क्षेत्र वन क्षेत्रमा पर्ने भएकाले संरचना निर्माणमा अवरोध भइरहेको छ।
हालसम्म तोकिएको स्थानमा कुनै स्थायी संरचना निर्माण नभएकाले प्रदेश सरकारले अहिलेको मुख्यमन्त्री कार्यालय वरपर क्षेत्र विस्तार गर्दै राजधानीका संरचना बनाउने तयारी थालेको हो।
यस कदमसँगै प्रदेश सभाको बर्खे अधिवेशनमा सांसद खिमा बिष्टले राजधानी सार्ने कुरालाई "बेमौसमी बाजा" भन्दै आपत्ति जनाएकी छन्। उनले भनिन्, “एकपटक राजधानी तोकिएको ठाउँ फेरि सार्नु हुँदैन। मैले नागरिकलाई यसको विरोध गर्न अपिल गरेकी छु र संसदमा पनि आवाज उठाउँछु।”
त्यसैगरी नेकपा एमाले गोदावरी नगरकमिटी अध्यक्ष सन्तोष सिंहले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै भनेका छन्, “दुई तिहाइ बहुमतले गोदावरिलाई राजधानी बनाउने निर्णय कार्यान्वयन गर्नुपर्छ, नभए एमाले गोदावरीले अखण्ड सुदूरपश्चिम आन्दोलनको झल्को देखाउनेछ।”
यता, सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा उठेका विषयमा सात दिनभित्र स्पष्ट जवाफ दिन प्रदेश सरकारलाई निर्देशन दिएका छन्।
आइतबार र सोमबार प्रदेश सभा बैठकमा समसामयिक विषयमा छलफलका लागि सांसदहरूलाई समय दिइएको थियो। छलफलको क्रममा विभिन्न विषय उठेका छन्।
नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले किसानहरू मल अभावका कारण चिन्तित रहेको भन्दै तत्काल रासायनिक मलको व्यवस्था गर्न सरकारलाई आग्रह गरे। उनले उत्पादनमा ठूलो गिरावट आउने खतरा औंल्याउँदै प्रदेश सरकारले किसानका पीडा नबुझेको आरोप लगाए।
प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले चुरे क्षेत्र अतिक्रमणको चपेटामा परेको उल्लेख गर्दै तत्काल नियन्त्रण र नियमन नगरे दिगो असर पर्ने चेतावनी दिए।
यस्तै, सन्तोषकुमारी शर्मा थापाले सुदूरपश्चिममा महिलाहरू असुरक्षित रहेको भन्दै महिला हिंसाविरुद्धको कानुन प्रभावकारी रूपमा लागू गर्न आग्रह गरिन्। उनले प्रत्येक पालिकामा महिला सहायता डेस्क र सेफ हाउस स्थापना आवश्यक रहेको जोड दिइन्।