Paschim Express
डडेल्धुराको यो क्षेत्रमा जोर–बिजोर पार्किङ प्रणाली लागू

डडेल्धुरा । डडेल्धुरामा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ समस्यालाई समाधान गर्न "जोर–बिजोर पार्किङ प्रणाली" लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराको संयुक्त पहलमा बिहीबार एक विशेष कार्यक्रममार्फत उक्त प्रणालीको औपचारिक सुरुवात गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमसहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नयाँ प्रणालीअनुसार अमरगढी नगरपालिका–५ तुफानडाँडादेखि डडेल्धुरा अस्पतालसम्मको मुख्य सडक खण्डमा जोर–बिजोर प्रणाली लागू हुनेछ। अर्थात्, तारिख अनुसार जोर गतेमा जोर नम्बर प्लेट भएका सवारीसाधन, र बिजोर गतेमा बिजोर नम्बर भएका सवारीसाधन मात्र सडक छेउमा पार्किङ गर्न पाइनेछ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले नगरमा ट्राफिक व्यवस्थापन सुधार गर्न नागरिक र व्यवसायीहरूबीच सहकार्य आवश्यक रहेको बताए। उनले जोर–बिजोर पार्किङ प्रणालीले शहरमा देखिएको पार्किङ अराजकतामा कमी ल्याउने विश्वास व्यक्त गरे।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख सुगन्ध श्रेष्ठले यस प्रणालीलाई सुरुवाती रूपमा परीक्षण (ट्रायल) अवधिमा लागू गरिने जानकारी दिए। परीक्षण अवधिमा देखिएका कमी कमजोरीलाई सुधार गरी पूर्ण कार्यान्वयनमा लैजाने योजना रहेको उनले बताए।

ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले नागरिकलाई नयाँ नियमबारे जानकारी दिन जनचेतनामूलक अभियानसमेत सञ्चालन गरिने जनाएको छ।

पार्किङ व्यवस्थापनमा देखिएको समस्यालाई समाधान गर्दै ट्राफिक सहज बनाउन यस प्रणालीबाट सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १६, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update