Paschim Express
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सर्वाधिक रक्तदाता  उपाध्यायले गरे ११०औं पटक रक्तदान

कैलाली । “दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिका आधार” भन्ने मूल नाराका साथ विश्वभरि आज २५ औं अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रममार्फत मनाइँदैछ।

यसै अवसरमा, कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलवानपुरस्थित सहारा युवा क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको थियो। सो कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सर्वाधिक रक्तदाता तथा रक्तदान सद्भावना दूत दीपक उपाध्यायले ११० औं पटक रक्तदान गरेका छन्। सहारा युवा क्लबका अध्यक्ष निर्मल कुमार मिश्रका अनुसार उक्त कार्यक्रममा उपाध्यायसहित कुल ५१ जनाले रक्तदान गरेका थिए।

त्यस्तै, अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा नेपाली युवा उद्यमी मंच, धनगढी च्याप्टरले पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो। सो कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए भने मंचका अध्यक्ष अच्युत दहालले यसबारे जानकारी दिए।

रक्तदानमा उल्लेखनीय योगदान पुर्‍याउँदै ११० औं पटक रक्तदान गरेका दीपक उपाध्यायलाई सहारा युवा क्लबले विशेष सम्मान गरेको छ। उपाध्यायलाई घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावत र क्लबका अध्यक्ष निर्मल मिश्रले प्रशंसापत्रसहित सम्मान गरे।

त्यस्तै, नेपाली युवा उद्यमी मंच, धनगढीले समेत उपाध्यायलाई सम्मान गरेको छ। मंचका अध्यक्ष अच्युत दहाल र संस्थापक अध्यक्ष पुष्कर ओझाले रक्तदान क्षेत्रका अहोरात्र खट्ने उपाध्यायको योगदानलाई उच्च मूल्यांकन गर्दै उनलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरेका थिए। मंचका प्रथम उपाध्यक्ष आशिष शाहले उपाध्यायले सयौं पटक रक्तदान गरी रगतको अभावमा रहेका हजारौंको जीवन बचाएको बताए।

528252622_1812959262593050_2692526433474660435_n-1754993739.jpg
 

सन् १९९८ मा पोर्चुगल सरकारले संयुक्त राष्ट्र संघको सहयोगमा आयोजना गरेको युवाका लागि जिम्मेवार मन्त्रीहरूको विश्व सम्मेलनको पहिलो सत्रले १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो। त्यसपछि सन् १९९९ मा महासभाको चौपन्नौं सत्रले “युवाहरू संलग्न नीतिहरू र कार्यक्रमहरू” शीर्षकको प्रस्ताव अनुमोदन गर्दै १२ अगस्टलाई हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने निर्णय गरेको हो।

प्रकाशित मिति: मंगलबार, साउन २८, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update