
डडेल्धुरा । डडेल्धुरामा स्थानीय तहबाट स्वरोजगार भएका युवाहरूलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। अमरगढी नगरपालिका क्षेत्रमा तीन पांग्रे साधन चलाउने धौली दमाईसहित कपाल र दाह्री काट्ने दुई जना युवालाई उत्कृष्ट युवा श्रमिकको रूपमा सम्मान गरिएको हो।
धाैली दमाई २०७४ सालको निर्वाचनमा अमरगढी नगरपालिका–७ बाट सदस्य पदमा निर्वाचित भई कार्यपालिका सदस्यसमेत रहँदै राजनीतिमा सक्रिय भएकी छन्। उनी स्वरोजगार बनेर समुदायका लागि प्रेरणाको स्रोत बनेकी छन्।
नेपाल ट्रेड युनियन कांग्रेस सुदूरपश्चिम प्रदेश युवा समितिले दमाईसहित अमरगढी–५ तुफानडाडामा सैलुन सञ्चालन गरिरहेका हरिषकुमार ऐर र लक्ष्मण ऐरलाई पनि सम्मान गरेको छ। आयोजकका अनुसार, कामले सानो ठूलो हुँदैन भन्ने सोच जगाउन युवाहरूलाई आत्मसम्मानसहितको सम्मान गरिएको हो।
युवा समितिका अध्यक्ष हरि भण्डारीले विगतदेखि रक्तदान लगायतका कार्यक्रम गर्दै आइरहेको बताए। यस पटक रेडक्रसद्धारा सञ्चालित ब्लड बैंकमा रक्तदानसँगै सम्मान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा करिब दुई दर्जन युवाले रक्तदान गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल ट्रेड युनियन सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष ज्ञानेन्द्र बहादुर शाहले युवालाई सीपमूलक तालिम दिइ स्वरोजगार बनाउनु आवश्यक रहेको बताए। तराईका जिल्लामा तालिमहरू हुने गरेको भए पनि पहाडी जिल्लामा तालिमको कमी भएको भन्दै उनले सुधारको पहल गर्ने प्रतिबद्धता जनाए।
उद्योग वाणिज्य संघ डडेल्धुराका वरिष्ठ उपाध्यक्ष दिपक महताले भने, 'एक दशकअघि गाउँमा आधारभूत पूर्वाधार थिएनन्, तर अहिले बने पनि युवाको विदेशिने प्रवृत्ति छ।' उनले स्वदेशमै लगानी र काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।
उनले विदेश जानका लागि ऋणसम्म जुटाउने तर आफ्नै ठाउँमा काम गर्न अनिच्छा देखाउने प्रवृत्तिका कारण युवा विदेशिने गरेको बताए। युवाहरूले अभियान चलाएर यो प्रवृत्ति रोक्नुपर्ने र सरकारले दिने अनुदानको पनि निगरानी गर्नुपर्ने महताले बताए।