Paschim Express
के सुदूरपश्चिमका मन्त्रीको गाडीले बैतडीमा बालकलाई किचेर मारेको हो ?

काठमाडौं । दलित अभियान्ता खगेन्द्र सुनारले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालमाथि सामाजिक सञ्जालमा लगाएका गम्भीर आरोपमा सत्यता नभएको खुलेको छ।

सुनारले फेसबुकमा मन्त्री पालको फोटोसहित बैतडीमा मन्त्रीको गाडीले किरण कोली नामक १३ वर्षीय बालकको हत्या गरेको भन्दै लेखेका छन्। उनका अनुसार, मन्त्री पालको गाडीले बालकलाई किचेको र पीडित परिवारलाई धम्की दिएको थियो।

तर जिल्ला प्रहरी कार्यालय बैतडीले घटनाको वास्तविक विवरण सार्वजनिक गर्दै किरण कोलीको मृत्यु साउन १७ गते स्थानीय डिन्नीगाडमा बालुवा संकलन गर्ने क्रममा विद्युतको पोलमा छुदा करेन्ट लागेर भएको बताएकाे छ। प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार बालक गम्भीर घाइते भएका थिए र गोकुलेश्वर अस्पतालमा मृत्यु भएको थियो। कानुन अनुसार शव उनका बाजेले १८ साउनमा प्राप्त गरेका थिए।

सामाजिक सञ्जालमा सुचारु गरिएको गलत सूचना सत्य नभएको प्रहरीद्वारा पुष्टि भएको छ। तर, सुनारले स्टाटसमा उल्लेख गरेको पीडितको खातामा पाँच लाख रुपैयाँ जम्मा गर्ने कुरा भने सत्य रहेको पाइएको छ। डिलासैनी गाउँपालिका–३ का वडाध्यक्ष रघुबिर बोहराले स्थानीयबाट संकलन गरी उक्त रकम मृतक परिवारलाई हस्तान्तरण गरेका थिए।

सामाजिक सञ्जालमा हत्या जस्तो गम्भीर आरोप लगाएर चरित्र हत्या गर्न खोजिएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री पालको सचिवालयले आपत्ति जनाएको छ। सचिवालयले सुनारविरुद्ध कानूनी कारबाहीको सम्भाव्यताबारे परामर्श गरिरहेको छ।

qq-1755771250.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update