Paschim Express
सुदूरपश्चिममा आजदेखि सुपथ मूल्य पसल सञ्चालन

डडेल्धुरा ।  चाडपर्व नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशमा आज (सोमबार)देखि सुपथ मूल्य पसल सञ्चालनमा आउने भएका छन्। दशैं, तिहार र छठ पर्व लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले विभिन्न जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रमुख दीपक थापाका अनुसार सोमबारदेखि २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदैछ। “हामीले दुई प्रकारका चामल र चिनीमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिनेछौं,” उनले भने, “सेवाग्राहीले नजिकैको सुपथ मूल्य पसलबाट सहजै सेवा लिन सक्नेछन्।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीको धनगढी, डडेलधुराको खलङ्गा बजार, कञ्चनपुरको महेन्द्रनगर, डोटीको खलङ्गा बजार र मौवानगर खरिद–बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ।

त्यसैगरी बाजुराको मार्तडी शाखा कार्यालय, कोल्टी डिपो कार्यालय, धुलाचौर, बिच्छाया र पाण्डुसैन बिक्री केन्द्र, बैतडीको गोठालापानी, पाटन, परचौडीहाट, रोलेश्वर, आम्चौरा र दोगडाकेदार केन्द्र, दार्चुलाको शाखा कार्यालय, सुनकेसरा, हिकिला र खण्डेश्वरी केन्द्र, अछामको मङ्गलसेन शाखा कार्यालय, सैनाबजार, साफेबगर र कमलबजार खरिद–बिक्री केन्द्रमार्फत पनि सुपथ मूल्य पसल सञ्चालन हुनेछन्।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ। कार्यालय प्रमुख तेजबहादुर कँवरका अनुसार साल्ट ट्रेडिङमार्फत चिनीमा प्रतिकिलो पाँच, नुनमा प्रतिकिलो दुई, तेल, चिउरा, पीठो, मैदा र दालमा प्रतिकिलो सात रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ।

साल्ट ट्रेडिङका सुपथ मूल्य पसल डडेल्धुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल र बैतडीको पाटनमा सञ्चालन हुने छन्।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update