
काठमाडाैं । भदौ २४ गते प्रदर्शनकारीको आक्रमणमा परेर घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवालाई नेपाली सेनाले उद्धार गरी शिवपुरीस्थित स्टाफ कलेजमा लगेर राखेको खुलेको छ।
बूढानीलकण्ठस्थित निवासमै रहेका देउवा दम्पतीलाई उद्धार गर्न सेनाको हेलिकप्टर पटक–पटक पुगे पनि प्रदर्शनकारीको भीड र ढुंगामुढा–बोतल प्रहारका कारण अवतरण गर्न सकेको थिएन। घरभित्र पसेर प्रदर्शनकारीले दम्पतीलाई लछारपछार गर्दै बाहिर निकालेपछि सुरक्षाकर्मी र केही स्थानीयको सहयोगमा उनीहरूलाई कम्पाउन्डको पर्खाल नाघेर नजिकैको खाली जग्गामा पुर्याइएको थियो।
त्यस क्रममा देउवा दम्पतीको गर्धन, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो। मेडिकल टोलीले तत्कालै खुला मैदानमै प्राथमिक उपचार गरेको थियो। तर ढुंगा प्रहार भइरहेकाले सुरक्षाकर्मीहरूले जस्तापाताले छेक्दै उनीहरूलाई गाडीमा राखेर शिवपुरी पुर्याएका थिए।
सेनाले हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास तीन पटकसम्म गरे पनि अवतरण सम्भव नभएपछि अन्ततः गाडीमार्ग प्रयोग गर्नुपरेको थियो। अहिले उनीहरू शिवपुरीस्थित नेपाली सेनाको स्टाफ कलेजमा उपचाररत छन्।
देउवा दम्पतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको देउवानिकट स्रोतले जनाएको छ। उनीहरू अझै एक हप्ताजति त्यहीँ बस्ने र सेनाका चिकित्सकहरूको निगरानीमै उपचार भइराखेको बताइएको छ। परिवारका सदस्य र केही निकट आफन्तबाहेक अन्यलाई भेट्न दिइएको छैन।
जेनजी आन्दोलनका क्रममा देउवा दम्पती मात्र नभई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायत अन्य शीर्ष नेता र मन्त्रीहरूलाई समेत सुरक्षार्थ शिवपुरीमै लगिएको थियो। अहिले केही नेता त्यहाँबाट बाहिरिएका छन् तर देउवा दम्पती भने अझै सेनाको संरक्षणमै छन्।
भदौ २३ र २४ गते भएको आन्दोलनमा हालसम्म ७२ जनाको ज्यान गएको छ। त्यही आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिँदा पूर्वप्रधान न्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनेकी छन्।