
डडेल्धुरा । जेनजी आन्दोलनमा घाइते भएर खुट्टा गुमाएका डडेल्धुराका २२ वर्षीय मुकेश अवस्थी अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत छन्।
भदौ २४ गते संसद भवन नजिकै गोली लागेपछि मुकेशलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको थियो। करिब ८ घण्टा लामो शल्यक्रियापछि चिकित्सकले उनको ज्यान जोगाए तर बायाँ खुट्टा काट्नुपर्यो।
अमरगढी नगरपालिका–५ का मुकेश सब–इन्जिनियरिङ पढिसकेर काठमाडौंमा जागिर गर्दै अस्ट्रेलिया जाने तयारीमा थिए। दिदी आकृतिका अनुसार परिवारले छोराको उज्ज्वल भविष्यको सपना देखेको थियो, तर एउटै गोलीले सबै ध्वस्त बनाइदियो।
त्यसैमा घटनापछि सामाजिक सञ्जालमा मुकेशको मृत्यु भएको भ्रामक समाचार फैलिएपछि परिवार दोहोरो तनावमा परेको छ। “एकातिर खुट्टा काटिएको पीडा, अर्कोतिर बाहिर मृत्युको हल्ला। कसैले सत्य बुझ्नै खोजेन,” आकृतिको आरोप छ।
अहिले मुकेशको उपचार निःशुल्क भइरहेको छ। तर परिवारले अब उनको बाँकी जीवन सहज बनाउन गुणस्तरीय कृत्रिम खुट्टाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। “नेपालमा उपलब्ध खुट्टा गुणस्तरीय छैनन्। भाइलाई जीवनभर काम गर्न, हिँड्न सक्ने खुट्टा चाहिन्छ, जुन विदेशबाट ल्याउनै पर्छ,” आकृतिले भनिन्।
उनले आन्दोलनमा युवाहरूलाई अगाडि सारेर बलिको बोका बनाउन छाड्नुपर्ने पनि जोड दिइन्। “जनयुद्धमा एउटा पार्टीले प्रयोग गर्यो, अहिले अर्कोले। कलिलालाई गोली खान पठाउने परिपाटी अब अन्त्य हुनुपर्छ,” उनले पीडा पाेखिन्।
मुकेशको स्वास्थ्यमा क्रमशः सुधार हुँदैछ। तर परिवारका लागि वास्तविक लडाइँ अब उनको भविष्य सुरक्षित गर्ने हो।