
डडेल्धुरा । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले सुदूरपश्चिमका नौ घर परिवारलाई क्षति पुर्याएको छ। आन्दोलनका क्रममा प्रहरीको गोली, कुटपिट र कारागार घटनाले ९ युवादेखि वृद्धसम्मले ज्यान गुमाए। उनीहरूको मृत्यु केवल व्यक्तिगत दुर्घटना मात्र नभई सिंगो परिवारका सपना, भविष्य र सहाराको अन्त्य बनेको छ।
युके जाने तयारीमै सपना चकनाचुर
धनगढी उपमहानगरपालिका–५ तारानगरका २७ वर्षीय गौरव जोशी भदौ २३ मा प्रहरीको गोली लागेर ढले। ऐश्वर्य विद्या निकेतन, धनगढीबाट प्लस–टु सकेर काठमाडौँ आएका उनी युके पढ्न जाने तयारीमा थिए। वृद्ध आमा–बुबाको जीवनलाई सम्हाल्ने आधार नै उनको निधनसँगै भत्किएको छ।
अधुरो रह्याे जापान जाने सपना
खप्तड छान्ना गाउँपालिका–७, गोर्खालीका २१ वर्षीय सुवास बोहरा पनि त्यही दिन राजधानीमा गोली लागेर ज्यान गुमाए। भाषा परीक्षा पास गरेर जापान जाने तयारीमा रहेका उनले आमाबाबुको संघर्षले सजिएको सपना अधुरै छाडे। आमा भारतको बेङ्लुरुमा मजदुरी गरेर छोरालाई पठाउने तयारीमा थिइन्, तर आन्दोलनले त्यो बाटो बन्द गरिदियो।
डेरामा बस्ने विद्यार्थीको शव अस्पतालमा
बाजुराका २१ वर्षीय योजन बुढा (ओजन) काठमाडौँको पशुपति क्याम्पसमा अध्ययनरत थिए। आन्दोलनमा सहभागितापछि हराएका उनी अस्पतालमा टाउकामा गहिरो चोट र हात भाँचिएको अवस्थामा शव भेटिए। भारतमा मजदुरी गर्दै आएका उनका पिता अझै पनि यो खबर पचाउन सकेका छैनन्।
अनाथ भए दुई महिनाका छोरा
भदौ २४ मा कालीमाटीमा प्रहरीको गोली लागेर बझाङका २८ वर्षीय भीमराज धामीको मृत्यु भयो। कृषि व्यवसायी उनी आफ्नी श्रीमती, वृद्ध आमा र दुई महिनाका नाबालक छोराको सहारा थिए।
आयुर्वेदिक व्यवसायीको जीवन आन्दोलनमै अन्त्य
कञ्चनपुर गड्डाचौकीका ४८ वर्षीय नीरज पन्त २५ वर्षअघि काठमाडौँ छिरेका थिए। महाराजगन्जमा आयुर्वेदिक औषधि व्यवसाय सञ्चालन गर्दै आएका उनले पनि प्रहरीको गोली लागेर ज्यान गुमाए।
त्याे कोरियन सपना
बैतडी शिवनाथ–२ का २१ वर्षीय दीपकसिंह साउद कोरियन भाषा सिकिरहेका थिए। बुवाले ऋणधन गरेर पठाएका उनी त्रिवि शिक्षण अस्पतालमै अन्तिम सास फेरे।
‘डिएसपी हो’ भन्दै आन्दोलनकारीबाट मारिए
दार्चुला लेकम–३ का ३५ वर्षीय प्रहरी जवान उत्तमसिंह थापालाई आन्दोलनकारीले डिएसपी भन्दै क्रूरतापूर्वक कुटेर हत्या गरे। उनी महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत थिए।
उमेरले अझै जवान तर ढले
२४ भदौ राति बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा भाग्ने क्रममा प्रहरीले गोली चलाउँदा अछामका २१ वर्षीय उमेश विष्ट र कैलालीका १९ वर्षीय जगत देउवाको मृत्यु भयो। जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका उनीहरूले कारागारबाट बाहिरिन खोज्दा जीवन गुमाए।
जेन–जी आन्दोलनका दुई दिनमा देशभर ७३ जनाले ज्यान गुमाए, जसमा सुदूरपश्चिमका नौ युवाले आफ्नो सपना, भविष्य र परिवारको सहारा गुमाए। यो आन्दोलन केवल राजनीतिक घटनाक्रम मात्र होइन, ९ घरका आँसु र अधुरो कथाको नाम बन्यो।