Paschim Express
डडेल्धुरामा सम्झनलायक बन्यो डिएसपी श्रेष्ठको कार्यकाल, के-के काम गरे ?

डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा एक वर्ष कार्यरत रहेर हाल कर्णाली प्रदेश प्रहरी कार्यालय, अन्वेषण योजना शाखा सुर्खेतमा सरुवा भएका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुगन्ध श्रेष्ठले आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन्।

शनिबार पत्रकार सम्मेलनमार्फत उनले अपराध नियन्त्रणदेखि सामुदायिक प्रहरी अवधारणासम्मका गतिविधि प्रस्तुत गर्दै डडेल्धुरामा आफ्नो एक वर्षे बसाइँलाई ‘सन्तोषजनक र स्मरणीय’ भएको बताए।

श्रेष्ठले गतवर्षको असोज १६ गतेदेखि डडेल्धुराको कमाण्ड सम्हालेका थिए। प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयअनुसार उनको सरुवा भएको हो।

मुद्दा फछ्र्यौट र अपराध नियन्त्रण

उनका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालयले १९० मुद्दा दर्ता गरेको थियो। तीमध्ये ११८ फछ्र्यौट भइसकेका छन् भने ९० मुद्दा अझै बाँकी छन्। यो अघिल्लो वर्षको तुलनामा ७० मुद्दा अर्थात् ५८.३ प्रतिशतले बढी हो।
चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म मात्र ३७ मुद्दा दर्ता भएको छ, जसमा १४ फछ्र्यौट भइसकेका छन्।

लागूऔषध नियन्त्रणमा पनि सक्रियता देखाइएको छ। गत वर्ष ११ मुद्दा दर्ता भई १५ जना पक्राउ परेका थिए भने चालु वर्ष हालसम्म २ मुद्दामा ४ जना पक्राउ परेका छन्।

फरार प्रतिवादी पक्राउमा उपलब्धि

फरार प्रतिवादी पक्राउ अभियानमा पनि महत्वपूर्ण सफलता हासिल भएको श्रेष्ठले जानकारी दिए। गत वर्ष १८६ मध्ये ९४ जना फरार पक्राउ गरी ५२ वर्षभन्दा बढी कैद सजाय र करिब ४७ लाख रुपैयाँ जरिवाना कार्यान्वयन भएको थियो। चालु वर्षमा भने २९ जना फरार पक्राउ गरी ३ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयन भएको छ। यस उपलब्धिका कारण जिल्ला अदालत डडेल्धुराले प्रहरी कार्यालयलाई सम्मानसमेत गरेको थियो।

चर्चित अपराध प्रकरण सुल्झिए

श्रेष्ठको कार्यकालमा डडेल्धुराका केही चर्चित अपराध प्रकरण सुल्झिएका छन्। अमरगढी–७ की आरती भट्टराई हत्या, गन्यापधुराकी खिमादेवी भुल हत्या, अमरगढी–३ की अस्मिता थापा मगर हत्या र शीर्ष साना किसान कृषि सहकारी संस्थामा भएको चोरी घटनाको अनुसन्धान उनको नेतृत्वमै सम्पन्न भएको हो।

सामुदायिक प्रहरी कार्यक्रम

अपराध नियन्त्रणसँगै उनले सामुदायिक प्रहरी अवधारणामा पनि जोड दिएका थिए। उनका अनुसार १,१४८ वटा सामुदायिक कार्यक्रममार्फत करिब २४ हजार नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्।
पीडित परिवारसँग पुनः सम्पर्क, वित्तीय साक्षरता, विद्यार्थी–प्रहरी भेटघाट, थुनुवासँग परामर्श सेवा, सडक सुरक्षा तालिम र अरिङ्गाल जोखिम न्युनिकरणजस्ता गतिविधि सञ्चालन गरिएको थियो।

चालु वर्षमा तुफानडाँडामा जोर–विजोर पार्किङ प्रणाली, सेवाग्राही प्रतिक्षालय, नयाँ प्रहरी पोष्ट स्थापना, अभिभावक–प्रहरी भेटघाट तथा सचेतनामूलक होर्डिङ बोर्डजस्ता कार्यक्रमलाई पनि उनले आफ्नो कार्यकालको उपलब्धि माने।

अब डडेल्धुराको नयाँ डीएसपीको रूपमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट वरुणबहादुर सिंह आउँदै छन्।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update