
३ जेठ २०८०, उनका लागि जीवनकै विशेष दिन थियो । त्यो दिनको दिउँसो साढे १२ बजेको समय झन् विशेष बन्यो । किनकि त्यो समयमा उनले आफ्नो जीवनको सबैभन्दा ठूलो लक्ष्य पूरा गरेकी थिइन् । उनी अर्थात्, विकट बझाङको सबैभन्दा विकटमा रहेको साइपाल गाउँपालिकाकी संगीता रोकाया ।
३ जेठ २०८० मा संगीता विश्वको सर्वोच्च शिखर सगरमाथाको टाकुरोमा पाइला टेक्न सफल भएकी थिइन् । ‘त्यो दिन त म कहिल्यै पनि बिर्सिन सक्दिनँ,’ उनले भनिन्, ‘वर्षौंदेखिको सपना पूरा भएको थियो । चुचुरोमा पुग्नेबित्तिकै ठूलो स्वरले रोएकी थिएँ ।’
शिखर चुमेपछि उनी ३० मिनेटसम्म त्यहीँ थिइन् । ‘२ जेठमा नै सगरमाथाको चुचुरोमा पाइला टेक्नुपर्ने थियो,’ उनले भनिन्, ‘तर, त्यो दिन मौसममा आएको खराबीका कारण हामी क्याम्पबाट बाहिर निस्किन सकेनौँ । २ जेठको राति क्याम्प ४ बाट शिखरतर्फ प्रस्थान गरेका थियौँ । ३ जेठमा मात्रै चुचुरोमा पाइला टेक्न सफल सक्यौँ ।’
आरोहण सफल हुनेबित्तिकै सबैभन्दा पहिले बुवालाई सम्झिएकी थिइन् संगीताले । ‘बुवाकै सहयोगले आरोहण सफल भएको थियो,’ उनले सुनाइन् ।
सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला हो, बझाङ । बझाङको पनि सर्वाधिक विकटमा छ, साइपाल गाउँपालिका । उक्त गाउँपालिकाको ४ नम्बर वडामा पर्छ धुलीगाउँ । उत्तरी बझाङको अन्तिम मानव बस्ती रहेको त्यो गाउँमा जन्मिएर कसैले सगरमाथा चढ्छु भन्दा धेरैलाई विश्वास नै लाग्दैन । त्यसमा पनि धुलीकी चेलीलाई त सगरमाथा आरोहण गर्ने सपना देख्न पनि छुट थिएन ।
‘छाउपडी प्रथाका कारण महिलाले हिमाल चढ्न हुन्न भन्ने मान्यता धुलीमा विद्यमान छ,’ संगीता भन्छिन्, ‘तर, म त्यो सबै परिबन्धलाई तोड्दै सर्वोच्च शिखर सगरमाथाको टाकुरोमा पाइला टेक्न सफल भएकी छु ।’
२७ वर्षीया संगीताले ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सगरमाथा आरोहण गरेकी हुन् । उनले सगरमाथाको चुचुरोमा ‘छाउपडी प्रथा अन्त्य गरौँ’ लेखिएको ब्यानर पनि पुर्याएकी थिइन् । ‘सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेकी थिएँ,’ सगरमाथा आरोहण गर्ने पहिलो बझाङीसमेत रहेकी उनले भनिन्, ‘सुरुमा बेस क्याम्प पुगेर उचाइ पचाउन क्याम्प १ र २ मा तलमाथि गर्ने अभ्यास गराइएको थियो ।’
संगीताले सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लागेको अनुभव सुनाइन् । ‘पायोनियर एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने सर्तमा सगरमाथा आरोहण गरेकी हुँ,’ उनले भनिन्, ‘सगरमाथाको चुचुरोमा पुग्न करिब २५ लाख रुपैयाँ खर्च लाग्यो ।’
साइपालमा हुर्के बढेकी संगीताले हिमाल चढ्ने सपना भने सानैमा देखेकी थिइन् । ‘६–७ कक्षामा अध्ययन गर्ने क्रममा मेरो गाउँमा कहिलेकाहीँ पर्यटक आउने गरेका थिए,’ उनले भनिन्, ‘ती पर्यटकले टेन्टमा बसेको देखेर मलाई निकै जिज्ञासा लाग्ने गरेको थियो । हिमाल चढ्नेहरू कस्ता हुन्छन् भन्ने मनमा लाग्थ्यो । सोही समयदेखि हिमाल चढ्ने सपना पनि बुन्न थालेकी थिएँ । तर, साइपालमा शिक्षा र जनचेतनाको कमीका कारण त्यो सपना पूरा गर्न भने सहज थिएन । निरन्तरको प्रयासले म सफल भएँ ।’
हुन त संगीताको हिमाल चढ्ने यात्राको आरम्भ सगरमाथा आरोहणभन्दा पाँच वर्षअघि नै भइसकेको थियो । महिलाले हिमाल चढ्न हुन्न भन्ने मान्यताविरुद्ध २०७५ कात्तिकमा उनी आफ्नै गृहजिल्लाको साइपाल हिमाल चढ्ने यात्रामा निस्केकी थिइन् । संगीतासँगै बझाङका चार चेली सरस्वती थापा, लक्ष्मी बुढा र पवित्रा बोहरा पनि थिए ।
साइपालको सफल आरोहण गरेर अन्धविश्वासलाई तोड्ने संकल्प गरेका थिए उनीहरूले । टिममा स्पेन, इटाली र अमेरिकाका विख्यात आरोहीहरू पनि थिए । तर, साइपाल चुम्ने प्रयास भने सफल हुन सकेन । मिसन साइपाल नामकरणसहित ७ हजार ३१ मिटर अग्लो साइपाल हिमाल आरोहणका लागि गएको टोली हिमपात हुन थालेपछि चुचुरोमा नपुगी फर्किएको थियो ।
साइपाल हिमाल आरोहण हालसम्म कसैले पनि गर्न सकेको छैन । ‘साइपाल चढ्ने प्रयास एकपटक असफल भए पनि फेरि प्रयास जारी राख्ने योजना छ,’ उनले सुनाइन्, ‘साइपाल र अपिको सफल आरोहण पनि हाम्रै पालामा हुनुपर्छ भन्ने मान्यता छ मेरो ।’
संगीताको अर्को लक्ष्य पनि छ । ८ हजार मिटरभन्दा बढी उचाइका विश्वका १४ वटै हिमाल चढेर (फोर्टिन पिक्स गरेर) रेकर्ड कायम गर्ने । सोही लक्ष्यअनुसार उनले ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमालको पनि सफल आरोहण गरिसकेकी छिन् । मनास्लु हिमाल विश्वको आठौँ अग्लो हिमाल हो । ‘हाम्रो टोलीले ४ असोज २०८० का दिन बिहान ५ बजेर २० मिनेटमा मनास्लु शिखर आरोहण गरेको हो,’ उनले भनिन्, ‘अब ८ हजारभन्दा बढी उचाइ भएका १२ हिमालको आरोहण बाँकी छ ।’
संगीताले मर्यादित महिनावारीको अभियन्ताको रूपमा पनि आफ्नो परिचय बनाएकी छन् । ‘महिलाले हिमाल चढ्दा देउता रिसाउँछन् भन्ने मान्यता समाजमा विद्यमान थियो,’ उनले भनिन्, ‘मैले त्यो मान्यतालाई तोड्दै दुई हिमालको सफल आरोहण गरेपछि अवस्थामा केही सुधार भयो होला भन्ने विश्वास छ ।’
उनले हिमाल चढ्नबाहेक सुदूरपश्चिमका महिलाहरूका लागि छुट्टै योजना पनि बनाएकी छन् । ‘अहिलेको मुख्य उद्देश्य त ८ हजार मिटरभन्दा बढी उचाइका विश्वका १४ वटा हिमाल (फोर्टिन पिक) तथा अपि र साइपाल चढ्ने नै हो,’ उनले भनिन्, ‘त्यो उद्देश्य पूरा गर्न मलाई केही वर्ष लाग्छ । त्यसपछि सुदूरपश्चिमकै महिलाहरूको उत्थानका लागि काम गर्ने योजना बनाएकी छु ।’