डडेल्धुरा । चालु आर्थिक वर्षका लागि संघीय सरकारले विनियोजन गरेको विकास बजेट रोकिएको चर्चा चलेसँगै डडेल्धुरा उद्योग वाणिज्य संघले औपचारिक रूपमा जिल्ला प्रशासन कार्यालयमार्फत स्पष्टिकरण माग गरेको छ।
संघका अध्यक्ष द्विजराज भट्टले प्रमुख जिल्ला अधिकारीलाई बुझाएकाे पत्रमा रातो किताबमा सूचीकृत विकास निर्माण परियोजनाहरूको बोलपत्र प्रक्रिया र मूल्यांकन कार्य भइरहेकै बेला बजेट रोकिएको भन्ने सूचना आएको उल्लेख छ।
बजेट रोकिँदा जिल्लास्थित विभिन्न विकास आयोजनाहरू प्रभावित हुने भन्दै संघले बजेट रोकिएको हो वा होइन भन्ने सम्बन्धमा सम्बन्धित कार्यालयहरूबाट तथ्य विवरण संकलन गरी सार्वजनिक गरिदिन अनुरोध गरेको छ।
उद्योग वाणिज्य संघको मागपछि निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले विकास सम्बन्धी निकायहरूसँग समन्वय गर्दै आवश्यक विवरण संकलन गरी जानकारी गराइने बताएकी छिन्।








