डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम मात्र होइन, समग्र मुलुकलाई नै शेरबहादुर देउवाको आवश्यकता रहेको बताएका छन्।
बिहीबार डडेल्धुरामा भएकाे पालिका प्रमुख, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुख र सुरक्षा निकायका प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।
मुख्यमन्त्री शाहका अनुसार डडेल्धुरा देशको पवित्र भूमि हो, जहाँबाट पाँच–पाँच पटक देशको नेतृत्व गर्ने शेरबहादुर देउवा जन्मिएका छन्। उनले भने, “शेरबहादुर देउवाले सधैं जनताको अधिकारका लागि अग्रपंक्तिमा रहेर संघर्ष गरे। आन्दोलनका समयमा ज्यानमाथि खतरा आइरहँदा पनि कहिल्यै विचलित भएनन्।”

शाहले आफू “सरकार र संविधान छ भन्ने सन्देश दिन” प्रदेशका विभिन्न जिल्लामा पुगेको बताए। उनका अनुसार जेन्जी आन्दोलन अकल्पनीय थियो र सबैले आ–आफ्नो ठाउँबाट सच्चिनु आवश्यक छ।
उनले राजनीतिक र प्रशासनिक नेतृत्वबीच समन्वय र हातेमालो भए मात्र पारदर्शिता, सुशासन र विकास सम्भव हुने बताए। शाहका अनुसार प्रदेश सरकारले वाचा गरेअनुसार प्रदेश निजामती सेवा ऐन एक वर्षभित्र जारी गरेको छ र त्यसपछि स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐन पनि ल्याइएको छ। उनले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई सरकारको प्रमुख नीति भएको बताए।
कार्यक्रमका विशेष अतिथि सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सबै मिलेर डडेल्धुराको विकासमा हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले जेन्जी आन्दोलनका क्रममा आफ्नै घरमा पनि तोडफोड भएको बताउँदै भनिन्, “त्यो आन्दोलनले सबैलाई सचेत बनायो। अब देशको सुशासन र समृद्धितर्फ सबैको ध्यान जानुपर्छ।”
कार्यक्रममा सातवटै स्थानीय तहका प्रमुख र उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यालय प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता समन्वय प्रमुख गगनसिंह भण्डारीले गरेका थिए।







