काठमाडाैं । आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले रातो किताबमा समावेश गरेका विकास योजनाहरूको बजेट रोकिएको भन्दै डडेल्धुराका युवाहरूले पत्रकार सम्मेलन गर्दै कडा आपत्ति जनाएका छन्।
सोमबार युवा नेता इन्जिनियर भुवन भट्टको संयोजकत्वमा काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा सरकारले २ अर्बभन्दा बढी रकम पूर्वाग्रहका आधारमा रोकिदिएको र जिल्लामा विकास कार्य रोकिने अवस्था बनेको भन्दै खबरदारी तथा विरोध व्यक्त गरिएको थियो।
'बजेट रोक्नु जनताप्रति धोका'
पत्रकार सम्मेलनमा बोल्दै भट्टले तालुकदार मन्त्रालयले जिल्लाका सम्बन्धित कार्यालयहरूलाई योजना कार्यान्वयन नगर्न निर्देशन जारी गर्नु डडेल्धुरावासीप्रति अन्यायपूर्ण व्यवहार भएको आरोप लगाए।
उनका अनुसार डडेल्धुरामा रहेका ७५ वटा आयोजनाका लागि छुट्याइएको करिब २ अर्ब बढी रकम रोकिँदा स्थानीय विकास, पूर्वाधार निर्माण, बजार व्यवस्थापनलगायतका कार्य प्रभावित भएका छन्।
डडेल्धुरा सुदूरपश्चिमका ७ पहाडी जिल्लातर्फ जाने मुख्य प्रवेशद्वार रहेको उल्लेख गर्दै भट्टले यस क्षेत्रको बजार र सडक विस्तारका लागि मात्रै २० करोड रुपैयाँ बजेट छुट्याइएको तर त्यसैलाई रोक्दा जनजीवन प्रभावित हुने बताए।
त्यस्तै, पालिकासँग जोडिएका लिंक रोड पिचका लागि ४८ करोड रुपैयाँ, धार्मिक क्षेत्र विकास, शाखा सडक स्तरोन्नति तथा अन्य बहुवर्षीय योजनाका लागि छुट्याइएको रकम समेत रोकिएको दाबी गरिएको छ।
भट्टले भने, “जनताको करबाट संकलित रकमलाई पूर्वाग्रह राखेर रोक्नु सरकारको गैरजिम्मेवारीको पराकाष्टा हो। यस्तो व्यवहार अपराधसरह हो।”
‘देउवाकाे गृह जिल्ला भएकै कारण बजेट रोकियो’
युवाहरूले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारकी प्रधानमन्त्री शुशीला कार्की, ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालले पूर्वाग्रहसहित पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला भएकै कारण बजेट रोकिदिएको आरोप लगाएका छन्।
युवाले बजेट तत्काल सञ्चालन नगरे जनआन्दोलन गर्नुपर्ने चेतावनी पनि दिएका छन्। “डडेल्धुरा सदरमुकाम नै बन्द हुन सक्छ, आवागमन ठप्प हुने अवस्था आउन सक्छ। जिम्मा सरकारको हुनेछ,” वक्ताहरूले भने।
सागर ढकालमाथि पनि प्रश्न
पत्रकार सम्मेलनमा २०७९ सालको निर्वाचनमा ‘परिवर्तन, युवा नेतृत्व’ को नारासहित उठेका सागर ढकालमाथि पनि प्रश्न उठाइयो। उनीहरूले ढकालले १३ हजारभन्दा बढी मत पाएर जनताको भावनालाई उपयोग गरेको तर अहिले बजेट रोकिँदा ‘चुइक्क नबोलेको’ आरोप लगाए।
युवा नेता भट्टले भने, “जनताको अढाई अर्बभन्दा बढी विकास बजेट रोकिँदा मुखदर्शक बन्ने सागर ढकाल अब डडेल्धुरा फर्कने पात्र छैनन्। उनी जनताप्रति जिम्मेवार रहेनन्। अब बहिष्कार हुनुपर्छ।”
अमरगढीका पूर्वमेयर तथा एमाले निकट नेता बिपिन ओझाले डडेल्धुरा देउवाको मात्र नभई गरिब जनताको पनि जिल्ला भएको बताए। “रातो किताबमा समावेश बजेट कटौती गर्ने अधिकार सरकारसँग छैन। अन्याय हटेन भने आन्दोलन गर्छौं,” ओझाले चेतावनी दिए।
कार्यक्रममा पदम ठकुरी, जगदीश भट्ट, महेश रावल, अरुण पन्त, सुरज मल्ल, भुवन ओझा, विनोद भण्डारी लगायतको उपस्थिति थियो।






