Paschim Express
डडेल्धुरा एमालेले भन्यो- अन्य उम्मेदवारलाई सघाउने सहमति भएको छैन,  भ्रम फैलाइयो

डडेल्धुरा । नेकपा (एमाले) जिल्ला कमिटी डडेल्धुराले पार्टीविरुद्ध भ्रामक प्रचार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस विज्ञप्तिमार्फत एमालेले लोकतान्त्रिक प्रतिस्पर्धाबाट अत्तालिएका केही राजनीतिक शक्तिहरूले गलत सूचना र अफवाह फैलाउने काम गरेको आरोप लगाएको हो ।

विज्ञप्तिमा एमाले लोकतान्त्रिक मूल्य र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्यसहित अघि बढिरहेको जिम्मेवार राजनीतिक शक्ति भएको उल्लेख गरिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा डडेल्धुराबाट प्रत्यक्षतर्फ उम्मेदवार चक्र स्नेहीसहित पार्टी पंक्ति जनताको घरदैलोमा सक्रिय रहेको जनाइएको छ ।
एमालेले केही व्यक्तिहरूले पार्टीले अन्य दल वा उम्मेदवारलाई सहयोग गर्ने गरी गोप्य सहमति गरेको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेको छ ।

यस्ता गतिविधिले पार्टीको बढ्दो जनमत र विश्वासलाई कमजोर पार्ने उद्देश्य राखेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले लोकतान्त्रिक विधि र स्वच्छ प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको जनाउँदै डडेल्धुरावासी सम्पूर्ण मतदाता, शुभेच्छुक, समर्थक तथा कार्यकर्तालाई कुनै भ्रममा नपरी एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरी अत्यधिक मतले विजयी गराउन हार्दिक अपिल गरेको छ ।

विज्ञप्तिमा केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज पठानसिंह बोहरा र जिल्ला अध्यक्ष गजेन्द्र शाहीको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update