काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ । आइतबार काठमाडौं क्षेत्र नम्बर ५ र ६ मा आयोजित संयुक्त चुनावी सभामा कांग्रेस सभापति गगन कुमार थापा र कांग्रेस बीपीका सभापति सुशील शेरचनले पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेसँगै एकता औपचारिक रूपमा घोषणा गरिएको हो ।
पार्टी एकताका लागि कांग्रेसका निर्वाचन समिति संयोजक सिताराम केसी र कांग्रेस (बीपी)का वरिष्ठ नेता कर्णबहादुर मल्लबीच सहमतिको आधार तय गरिएको थियो । सोही सहमतिको आधारमा कांग्रेस बीपी नेपाली कांग्रेसमा समाहित भएको जनाइएको छ ।
कांग्रेस बीपीका सभापति शेरचन नेतृत्वको टोलीले गत पुस १४ गते तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का समक्ष पार्टी एकताको प्रस्ताव राखेको थियो । पछि विशेष महाधिवेशनमार्फत गगन थापा सभापति बनेपछि कांग्रेस बीपीका नेताहरूले पुनः एकता संवाद अघि बढाएका थिए, जसको परिणामस्वरूप आज एकता सम्पन्न भएको हो ।
कांग्रेस बीपीको संगठन देशभर ५४ जिल्ला र सातै प्रदेशमा फैलिएको थियो । १५१ सदस्यीय केन्द्रीय समितिमध्ये हाल १२२ जना मात्र सक्रिय रहेका थिए भने बाँकी पदाधिकारी तथा सदस्यहरू यसअघि नै नेपाली कांग्रेसमा प्रवेश गरिसकेका थिए । डडेल्धुरामा भने कांग्रेस बीपीको संगठन वडा तहसम्म विस्तार भएको थियो । जिल्लाका ५२ वटै वडा, सात पालिका, दुई प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमिति सक्रिय रहेको दाबी गरिएको छ ।
पूर्व जिल्ला सभापति कर्ण मल्ल कांग्रेस बीपीमा सक्रिय भएपछि डडेल्धुरामा पार्टीको जनमत उल्लेख्य देखिएको थियो । २०७९ को निर्वाचनमा मल्लले देउवाविरुद्ध उम्मेदवारी दिँदा ७ हजार ५३५ मत प्राप्त गरेका थिए ।
त्यस्तै, प्रदेशसभा क्षेत्र नम्बर २ मा कांग्रेस बीपीले समर्थन गरेको स्वतन्त्र उम्मेदवार तारा जोशी ले कांग्रेसका गोविन्द बोहरा लाई पराजित गर्दै ११ हजार १६१ मत ल्याएका थिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेस बीपीले डडेल्धुरामा दुई वडाध्यक्ष जितेको थियो । अमरगढी नगरपालिका–८ मा नरबहादुर साकी र गन्यापधुरा गाउँपालिका–१ मा नरेश भण्डारी वडाध्यक्षमा विजयी भएका थिए ।
विश्लेषकहरूका अनुसार कांग्रेस बीपीको समायोजनपछि नेपाली कांग्रेसलाई समानुपातिकतर्फ केही हजार मत थपिने अनुमान गरिएको छ । तर यसको मुख्य लाभ भने कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई हुने देखिन्छ । गत निर्वाचनमा डडेल्धुरामा कांग्रेसले समानुपातिकतर्फ १८ हजार ५६२ मत प्राप्त गरेको थियो भने एमालेले ९ हजार २१४, नेकपाले ९ हजार ३७२, कांग्रेस बीपीले ४ हजार ५१४, रास्वपाले ३ हजार ६५० र राप्रपाले १ हजार ५ सय मत पाएका थिए ।




