Paschim Express
सुदूरपश्चिममा तीन लाख पाठ्यपुस्तक बिक्री, चार जिल्लामा ढुवानी

कैलाली । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा तीन लाख एक हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको छ ।

आगामी शैक्षिकसत्र २०८३ का लागि प्रदेशका विभिन्न जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्रीवितरण गरेको प्रादेशिक कार्यालय प्रमुख निर्मलकुमार यादवले जानकारी दिए । पुस्तक बिक्रीबाट तीन करोड ७४ लाख ७० हजार बराबरको कारोबार गरिएको उनले बताए।

कार्यालय प्रमुख यादवले हालसम्म पहाडी जिल्ला बाजुरा, दार्चुला, अछाम र बझाङमा पाठ्यपुस्तक ढुवानी गरिएको र यही चैत ३० गतेभित्र प्रदेशका नौ वटै जिल्लामा पुस्तक पुर्‍याउने योजना रहेको बताए । केन्द्रले चैत १६ गतेबाट पुस्तक बिक्रीवितरण सुरु गरेको छ ।

“हाल दुर्गम ठाउँमा ढुवानी गरिरहेका छौँ । शैक्षिकसत्र सुरु हुनुअगावै सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याउँछौँ”, उनले भने, “पाठ्यपुस्तक अभाव छैन् । सबै ठाउँमा समयमै पाठ्यपुस्तक पुग्छ । सोहीअनुसार काम भइरहेको छ ।”

कार्यालय प्रमुख यादवका अनुसार केन्द्रले आगामी शैक्षिकसत्रका लागि प्रदेशभरि साढे १६ लाख थान पाठ्यपुस्तक बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ । जनक शिक्षाले कक्षा ३ र ५ तथा कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तक बिक्रीवितरण गर्ने गरेको छ ।

चालु शैक्षिकसत्रमा केन्द्रले यस प्रदेशमा कक्षा ३ देखि १२ सम्म १६ लाख २९ हजार २६३ थान पाठ्यपुस्तक बिक्री गरेको तथा २१ करोड ९३ लाख ७३ हजार ४९४ बराबरको कारोबार गरेको जनाइएको छ । रासस

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update