धनगढी । विपद् जोखिम न्यूनीकरण र आपतकालीन प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित कैलालीमा अन्तर पालिकास्तरीय स्रोत साझेदारी संयन्त्र गठन गरिएको छ । गोदावरी नगरपालिका कैलालीको आयोजनामा, युरोपेली आयोग मानविय सहायता विभागको आर्थिक सहयोग तथा युएनडीपी, युएन ओमन, युनीसेफ, हेन्डीक्याप इन्टरनेसनलको सहयोग तथा ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) द्वारा सञ्चालित सुपर दोश्रो चरण परियोजनाको सहकार्यमा आयोजित एकदिने पालिकास्तरीय कार्यशालाबाट यस्तो संयन्त्र गठन गरिएको हो ।
कार्यशालामा कैलाली जिल्लाका पाँच वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक, विपद् व्यवस्थापन शाखाका सम्पर्क व्यक्तिहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रम गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यशालामा स्थानीय तहहरूबीच स्रोत साझेदारीको आवश्यकता, यसको व्यवहारिक कार्यान्वयनका उपाय, तथा विपद् व्यवस्थापनमा देखिएका चुनौती र अवसरबारे विस्तृत छलफल गरिएको थियो।
सहभागीहरूले आफ्ना अनुभव, सिकाइ र असल अभ्यासहरू प्रस्तुत गर्दै सहकार्यको दायरा विस्तार गर्नेमा जोड दिएका थिए। कार्यक्रमकै क्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको संयोजकत्वमा अन्तरपालिका स्रोत साझेदारी संयन्त्र समिति सर्वसम्मत रूपमा गठन गरिएको छ । समितिमा पाँच वटै पालिकाका प्रमुख सदस्य रहनेछन् भने विपद् व्यवस्थापनमा सक्रियता, छलफल र आगामी कार्ययोजना निर्माण गर्न प्रत्येक २-२ महिनामा बैठक बस्ने र श्रोत साझेदारीका अभ्यासहरु साटासाट गर्ने बिषयमा छलफल गरीएको छ ।
कार्यशालाले स्थानीय तहहरूबीच समन्वय, सूचना आदान–प्रदान र सहकार्यलाई थप मजबुत बनाउने, साझा कार्ययोजना निर्माण गर्ने तथा अन्तर–पालिका सञ्जाल स्थापना गर्ने निष्कर्ष निकालेको छ । यसले भविष्यमा विपद् पूर्वतयारी र प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको कुरा साझेदार संस्था रुडुकका कार्यकरी निर्देशक अमर साउदले जानकारी दिए । कार्यक्रमले स्थानीय तहहरूबीच सहकार्यको वातावरण सिर्जना गर्दै दीगो र समन्वित विपद् व्यवस्थापन प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।




